फिल्म नाईं नभन्नू ल–४ : नुनबिनाको तरकारी

काठमाडौं – शुक्रबारदेखि नाईं नभन्नू ल –४ फिल्म रिजिल भएको छ । विकासराज आचार्य निर्देशित यो फिल्मको चौथो श्रृंखला सार्वजनिक भएकाले पनि यो फिल्म दर्शकका लागि बढी नै जिज्ञासाको विषय बनेको छ । यही जिज्ञासाको बीचमा फिल्म हेर्ने हतारो हुनु र यो कस्तो छ भन्ने जिज्ञासा पलाउनु स्वभाविक छ ।

nai nabhannu la 4नाईं नभन्नू ल –४ श्रृंखला फिल्म एउटा अपराधमा बुनिएको कथा हो । सुरुदेखि नै अपराधबाट सुरु भएको फिल्म अन्त्यसम्म नै एउटै अपराधको सेरोफेरोमा केन्द्रित हुन्छ । अपराध गरेको एक युवक प्रहरीको नजरमा पर्छ र उसलाई प्रहरीले खोजी गरिरहको हुन्छ । प्रहरीले अथक प्रयास गर्दा पनि नभेटिएको युवक नाटकीय तरिकाले प्रहरीको नजरमा पर्छ र मारिन्छ । त्यही अपराधी युवक मारिएपछि विकसित घटनाक्रममा केन्द्रित हुँदा–हुँदै दर्शकले पत्तै नपाई फिल्म सकिन्छ । अपराधको सेरोफेरोमा फिल्म केन्द्रित हुँदा प्रेमको कथा पनि यसमा उठाइएको छ ।

फिल्मका अघिल्ला श्रृंखला हेरेका दर्शक यो फिल्मबाट धेरै अपेक्षा गरेर फिल्म हल पुग्नु नाजायज छैन । तर, यो फिल्म अघिल्ला श्रृंखलाभन्दा निकै कमजोर छ । फिल्मबाट धेरै कुरा पाउने आसा गरेर पुगेका दर्शकमाथि फिल्मले न्याय गर्न नसकेको प्रतीत हुन्छ । अपेक्षा गरिएका कुराहरु फिल्ममा नभेटिँदा दर्शक निराश भएर घर फर्कन्छन् ।
राम्रो बनाउने दबाबमा परेर हो या के हो यो श्रृंखला औसत फिल्मबाट माथि उठ्नै सकेको छैन । फिल्मले हलबाट दर्शकलाई केही भावुक बनाएर त पठाउँछ, तर फिल्ममा हुनुपर्ने धेरै कुरा छुटेको छ । तरकारी पकाएको भान्छेले तेल धेरै हालेर बाँकी कुराहरु नहालेजस्तै फिल्ममा धेरै ठाउँमा ढंग पुगेको छैन । कारण फिल्म निकै कमजोर बनेको छ ।

यो फिल्मको सुरुवात नै खराब छ । फिल्मका सुरुका दृश्य र संवाद नै अनावश्यक लाग्छन् । कथा औषत किसिमको भए पनि पटकथामा परिवर्तन भएर पर्दामा उतारिँदा निकै कमजोर बनेको छ । फिल्मको अर्को कमजोर पाटो के छ भने फिल्मको अधिकांश स्थानमा लय बिग्रेको छ । कतिसम्म भने फिल्मको कथा नै दर्शकले नबुझ्ने खालको छ । अनावश्यक दृश्य र संवाद हालेर फिल्मलाई एकातिर क्लिष्ट पारिएको छ भने अर्कातिर फिल्मले दृश्य मार्फत देखाउनु पर्ने कुरालाई संवादमार्फत भनेर दर्शकको थाहा पाउने अधिकारलाई नै फिल्म हल भित्र छिराएर अपहरण गरेको छ ।
फिल्ममा गुण्डा भनिएका युवकको नाम नीर हो भन्ने कुरा नै दर्शकले फिल्म सकिन लागेपछि मात्रै थाहा पाउँछन् । गुण्डा नीरको वरिपरि मात्रै फिल्म घुम्नु र त्यही व्यक्तिको नाम नीर हो भनेर दर्शकले थाहा पाउन पनि सकस व्यहोर्नुले पनि फिल्मको दयनीयपन झल्कन्छ ।
अर्को कुरा यो फिल्ममा नीर कसरी गुण्डा बन्न पुगे भन्ने कुरा नै छैन । एउटा युवक कसरी पेस्तोल भिरेर अपराध गर्ने अवस्थामा पुगे भन्ने प्रश्न दर्शकले फिल्मको अन्त्यसम्म गरिराखे पनि यो प्रश्नको जवाफ नभेटिँदै दर्शक फिल्म हल छाडेर बाहिरिनु पर्ने अवस्थाम पुग्छन् । यसअर्थमा फिल्मले दर्शकलाई बेस्सरी ठगेको छ ।
कथावस्तु र प्रस्तुति कतिसम्म मिलेको छैन भने गुण्डा नीरको आचलसँग बनेको सम्बन्ध नै पूरै कृत्रिम छ । फिल्ममा यी दुईको सम्बन्ध यति नाटकीय रुपमा भएको छ कि जुन वास्तविक जीवनमा सम्भव नै छैन । फिल्म कथा बोल्ने मात्र होइन, समाजको यथार्थता ओकल्ने माध्यम पनि हो । यसअर्थमा फिल्म यहाँनिर बेस्सरी चिप्लेको छ, कुँजो बनेको छ । फिल्ममा उल्लेख गरेका धेरै कथा यस्तै अन्टसन्ट र क्लिष्ट छन् । यसको प्रभाव अभिनयमा पनि देखिएका छन् । कतिपय अभिनय नै बनावटी छन् ।
समाजमा देखाउनु पर्ने धेरै कुराहरु छन्, तर यो फिल्मले देखाउनु पर्ने राम्रा कुरा छाडेर सस्तो मायाको विषयमा फिल्म बनाएको छ । अर्कातिर फिल्मको महत्त्वपूर्ण पाटोमा पनि सन्देश पनि हुन्छ । समाजमा फिल्मको महत्त्वपूर्ण भूमिक हुने भएकाले पनि यसमा सन्देश अपरिहार्य हुन्छ । तर, यो फिल्म बनाएर के सन्देश दिन खोजिएको हो ? हल छाडेर बाहिर निस्किएर गम खाँदा पनि ठम्याउन सकिन्नँ । सस्तो मायाको विषयमा यसै नै धेरै फिल्महरु बनिरहेका छन् । यस्तोमा एउटा लघुकथामा नै भन्न सकिने विषयलाई लिएर किन यतिको पैसा र समयको बर्बाद गरियो ? फिल्मले यस्तै प्रश्न उब्जाएको छ ।

तर, अहिलेका टिनएज उमेर समूहलाई भने फिल्मले तान्ने देखिएको छ । एउटा प्रेम कथामा भने फिल्म सफल नै भएको मान्नुपर्छ । फिल्ममा उठाइएका प्रेम प्रसंग र अन्त्यमा निम्तिएको वियोगान्तको प्रसंगले जो सुकैको मन चसक्क चस्कन्छ । तर, यही प्रसंगलाई मिलाएर फिल्मले पस्कन नसक्दा बौद्धिक खाले दर्शकलाई भने यसले तान्ने क्षमता गुमाएको छ ।

यति हुँदाहुँदै पनि फिल्ममा धेरै राम्रा पक्षहरु पनि छन् । पहिलो कुरा त यो फिल्ममा समावेश गरिएका सबैजसो गीत राम्रा छन् । सुटिङ गरिएका स्थानहरु राम्रा छन् र दृश्यहरु उच्च प्रविधिको प्रयोग गरेर लिइएको छ । अर्को महत्त्वपूर्ण कुरा भनेको यो फिल्म परिवारका सदस्यसँग बसेर पनि हेर्न सकिने खालको छ । भाषा र व्याकरणहरुमा पनि विशेष चासो देखाएर फिल्मले केही परिपक्वता भने अवश्य देखाएको छ ।

फिल्ममा कतिपय कलाकारको अभिनय भने बेजोड छ । सरोज खनाल, प्रियंका कार्कीले आफ्नो अभिनयमाथि न्याय गरेका छन् । शिशिर भण्डारीले हसाएर दर्शकलाई निन्द्रा लाग्नबाट जोगाएका छन् । पल शाह, आँचल शर्मा तथा वर्षा राउतको अभिनय औषत खालको छ ।

Loading...