भीमदत्तनगर, जेठ १६ – कञ्चनपुरको शुक्लाफाँटामा पाइने विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिङ्गाको स्थानान्तरण गरिन लागेको छ ।

swampdeer-nepal

शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट दुई दिनयता बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा स्थानान्तरण गरिन लागिएको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले शुक्लाफाँटाबाट पहिलो पटक वन्यजन्तु स्थानान्तरण गरिने बताउनुभयो । शुक्लाफाँटाबाट पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जमा १५ बाह्रसिङ्गा स्थानान्तरण गरिने उहाँले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । त्यसैगरी दोस्रो चरणमा चितवन राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा सारिने शुक्लाफाँटा आरक्षको तयारी छ ।

त्यस्तै चितवनमा २५ बाह्रसिङ्गा सार्ने योजना प्रक्रियामा छ । यसका लागि आरक्षका छ हात्ती र ४० प्राविधिकको टोली परिचालित छन् । युएसएआइडीको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र आरक्षको प्राविधिक सहयोगमा बाह्रसिङ्गा स्थानान्तरण गरिन लागिएको हो । “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग वन मन्त्रालयबाट बर्दियामा बाह्रसिङ्गा स्थानान्तरण गर्ने निर्णय भएको थियो”, ढकालले भन्नुभयो । शुक्लाफाँटामा दुई हजार २०० भन्दा बढी बाह्रसिङ्गा छन् ।

बाह्रसिङ्गाको आनुवांशिक विविधता संरक्षणका लागि स्थानान्तरण गर्नुपर्ने उहाँको भनाइ छ । बर्दियामा रहेका बाह्रसिङ्गाको सङ्ख्या लामो समयदेखि वृद्धि नभएकाले त्यहाँ स्थानान्तरण गर्न लागिएको हो । झन्डै तीन दशकका अवधिमा बर्दियामा अपेक्षाकृत रुपमा बाह्रसिङ्गाको सङ्ख्या बढोत्तरी नभएको हुँदा शुक्लाफाँटबाट नश्ल सुधारको दृष्टिसँगै बाह्रसिङ्गा संरक्षणका लागि स्थानान्तरण गरिरहेको आरक्ष कार्यालयले जनाएको छ ।

आरक्ष कार्यालयदेखि २४ किमी टाढास्थित साढे ५४ वकिमी क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा घाँसेमैदानमा मात्र बाह्रसिङ्गा भेटिन्छन् । शुक्लाफाँटामा १४ वर्षअघि २०५८ सालमा चितवनबाट चार गैँडा र चार वर्षअघि नेपालगन्जबाट कृष्णसार स्थानान्तरण गरिएका थिए । तीन सय पाँच वकिमी क्षेत्रफल रहेको आरक्षको शुक्लाफाँटा घाँसेमैदान प्रमुख बासस्थान रहेको बाह्रसिङ्गाको संरक्षणका लागि चोरी–सिकार नियन्त्रण, घाँसेमैदान व्यवस्थापन, पानीको सहज उपलब्धताको व्यवस्था गरिएकाले यसको संरक्षणमा टेवा पुगेको छ । सेनाको भवानी बक्स गण आरक्षको चौतर्फी सुरक्षामा खटिएको छ । रासस