यी विषयमाथि छलफल चल्दैछ एमाले केन्द्रीय समिति बैठकमा

काठमाडौं, असोज ५ – नेकपा (एमाले) केन्द्रीय कमिटीको आजदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । बैठकका लागि विभिन्न आठ कार्यसूची पनि पारित भएको छ ।

अध्यक्ष ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । बैठक आरम्भ गर्दै अध्यक्ष ओलीले पार्टीको एकताबद्ध प्रयास र नेतृत्वका कारण मुलुकमा संविधान जारी भएकाले त्यसको कार्यान्वयनमा पार्टी सम्पूर्ण रुपमा परिचालित हुनुपर्नेमा जोड दिए ।

“निर्वाचन नगरी संविधान कार्यान्वयन हुन सक्दैन भन्ने बुझेरै यसमा आलटाल गर्ने कोसिस गरिएको छ । त्यसका विरुद्धमा पार्टी दृढतापूर्वक उभिन्छ । राष्ट्र, राष्ट्रियता र अग्रगमनलाई कमजोर बनाउने गरी आउने कुनै पनि प्रस्ताव पार्टीका लागि सह्य छैन’ ओलीले भने, ‘राष्ट्रवादका पक्षमा उभिएको र कसैका सामु नझुकेका कारण हाम्रो सरकार ढालिएको हो । तर, प्रतिपक्षी भूमिकामा रहँदा समेत राष्ट्रप्रतिको हाम्रो भूमिकामा कुनै फरक पर्ने छैन । एकताबद्ध रुपमा पार्टीले सबै सङ्कटको सामना गर्नेछ र मुुलुकको अगुवाइ गर्नेछ ।”

आजको बैठकले पारित गरेका केन्द्रीय कमिटीको बैठकका कार्यसूचीमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णयको अनुमोदन, केन्द्रीय आयोगका प्रतिवेदन छन् । अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँट गरी केन्द्रीय कमिटी सदस्यका नौ वटा समूह बनाइएको छ । ती समूहले भोलि १ बजेसम्म छलफल गरी बैठकमा धारणा प्रस्तुत गर्नेछन् । अर्को बैठक बिहीबार दिउँसो १ बजे पुनःबस्नेछ ।