काठमाडौँ – सडक विस्तार वैज्ञानिक नहुँदा उपत्यकामा ट्राफिक जाम बढ्दै गएको यातायात व्यवस्था विभागका उपमहानिर्देशक तथा प्रवक्ता वसन्त अधिकारीले बताएका छन् , आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
उनका अनुसार सडक विस्तारसँगै ‘जक्सन’, ओभरहेड ब्रिज, ‘बोतल नेक’ आकारका सडकलगायतका कारण ट्राफिक जाम हुने गरेको छ । ‘उपत्यकामा पछिल्ला वर्षमा सडक विस्तार त भए, तर वैज्ञानिक तवरले निर्माण नहुँदा ट्राफिक जाम घटेन,’ अधिकारीले भने, ‘उदाहरणका रूपमा हेरौँ– माइतीघर मण्डलादेखि तिनकुनेसम्मको सडक आठ लेनमा विस्तार गरियो । तर, न धोबी खोलामा पुल बन्यो, न त बागमतीमा नै । सडक ‘बोतल नेक’ बने । त्यसैले ट्राफिक जाम भयो ।’
उपत्यकामा दैनिक थपिन्छन् दुई सय सवारी
उपत्यकामा दैनिक दुई सय सवारीसाधन थपिने गरेको यातायात व्यवस्था कार्यालयको तथ्यांक छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२-७३ मा बागमती अञ्चलमा ५४ हजार सात सय २१ सवारीसाधन थपिएका छन् । सोअनुसार बागमतीमा दैनिक दुई सय ६० वटा नयाँ सवारीसाधन दर्ता हुने गरेका छन् । त्यसमध्ये झन्डै ८० प्रतिशत उपत्यकामा चल्छन् । आर्थिक वर्ष ०७१-७२ मा ७२ हजार ६ सय ३३ सवारीसाधन थपिएका थिए । सवारीसाधन थपिएअनुसार सडक नबढ्दा जाम बढेको डिआइजी प्रकाश अर्याल बताउँछन् ।document.currentScript.parentNode.insertBefore(s, document.currentScript);