बम विष्फोटको घटना सेलाउन नपाउँदै राजधानीमा चन्दा काण्ड

काठमाडौं, – चन्दा असुलीका लागि निजी विद्यालयमा पूर्व लडाकुको समुहले बम विष्फोट गराएको घटना सेलाउन नपाउँदै राजधानीमा चन्दा माग्न सक्रिय मोहन बैद्य र नेत्रविक्रम चन्द विप्लप नेतृत्वका माओवादीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

गृह मन्त्रालयले मंगलबार सुरक्षा निकायका प्रमुखलाई बैठक बोलाएर चन्दा असुली गर्ने जो कोही भएपनि कारबाहीको दायरमा ल्याउन निर्देशन दिएसँंगै प्रहरी सक्रिय भएको हो ,अन्नपुर्णमा खबर छापिएको छ ।

बुधबार बिहान कलंकी र बागबजारबाट प्रहरीले ६ जनालाई चन्दा मागेको अभियोगमा पक्राउ गरेको छ । कलंकीस्थित क्याम्ब्रिज कलेजमा चन्दा माग्दै गरेको अवस्थमा विप्लपका कार्यकताद्वय दाङ तुल्सीपुरका प्रमोद गिरी र महेन्द्र तामाङ पक्राउ परेका छन् । सामना सांस्कृतिक अभियानको लागि पर्चा देखाएर चन्दाको लागि वार्गेनिङ गरेको जानकारी महानगरीय परिसर काठमाडौंले जनाएको छ ।

त्यसैगरी परिसर काठमाडौंले वैद्य नेतृत्वका नेकपा क्रान्तिकारी माओवादी निकट ४ जना नेतालाई चन्दा असुलीकै आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराम यादव, दिपेन्द्र सुनुवार, राम नेपाली र महेश श्रेष्ठ छन् ।