जलजला बहुमुखी क्याम्पसले रकम सार्वजनिक गरेन

डेढ करोड रकम सार्वजनिक नगरे मुद्दा हाल्ने चेतावनी

रोल्पा, ६ असोज । जलजला बहुमुखी क्याम्पस, रोल्पाले महायज्ञबाट उठेको डेढ करोड रकम सार्वजनिक नगर्दा दानीले मुद्दा गर्ने चेतावनी दिएका छन् । क्याम्पसले एक वर्षसम्म पनि रकम सार्वजनिक नगर्दा दानीले यस्तो चेतावनी दिएका हुन् ।
गत वर्ष असोज ३ देखि १० गतेसम्म जलजला बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तथा अक्षयकोष स्थापना गर्ने भन्दै धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । धार्मिक महोत्सवमा नगद, जिन्सी गरी दुई करोडभन्दा बढी रकम उठेको भनिए पनि अहिलेसम्म सोको हिसाब किताब सार्वजनिक नहुँदा दानीहरुले चेतावनी दिएका हुन् ।
महोत्सवमा रु एक लाख ९१ हजार नगद दान गरेका खटकबहादुर खत्रीले उठेको रकम अविलम्ब सार्वजनिक गर्नुपर्ने बताए । रकम दुरुपयोग भएको विषयमा आफूलाई शङ्का नभए पनि बजेट सार्वजनिक नहुँदा शङ्का गर्ने ठाउँ देखिएको बताए । क्याम्पसले सो रकम सार्वजनिक नगरे सम्बन्धित निकायमा उजुरी दिने उनले बताए ।
महायज्ञमा स्वर्गवासी श्रीमान्को सम्झनामा रु ७५ हजार दान गरेकी तुलसा आचार्यले क्याम्पसको गेटमा श्रीमान्श्रीमतीको नाम अङ्कित गर्ने भनिएकोमा हालसम्म कुनै प्रक्रिया अगाडि नबढाइएकोमा असन्तुष्टि पोखे । दान गर्दा जुन सर्त राखिएको थियो सो अनुसार नगरे आफूले सम्बन्धित निकायमा मुद्दा गर्ने बताए । tu
स्नातकोत्तर तहको पढाइ हुने आशामा रु ३१ हजार १११ दान गरेकी शान्ति कक्षपतिले हालसम्म पनि स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्नेबारे कुनै प्रक्रिया नचालेको बताए । क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालन नगर्ने हो भने आफूहरुको पैसा फिर्ता हुनुपर्ने बताए । यस सम्बन्धमा क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले कबोल गरेका सबै पैसा प्राप्त नभएको हुँदा सार्वजनिक गर्न नसकेको स्वीकार गरे ।
असोज महिनाभित्रै सबै हिसाबकिताब मिलान गरेर सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए । क्याम्पसको नियमित खातामा रकम अभाव भएका कारण शिक्षक कर्मचारीको तलबका लागि महायज्ञको खाताबाट केही रकम सापटीस्वरुप खर्च गरिएको पनि उनले जानकारी दिए ।

यसै विषयमा जलजला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालको धारणा बुझ्दा हिमानी ट्रस्टबाट केही रकम दिने भनिए तापनि हालसम्म सो रकम आउने÷नआउने निश्चित नभएकाले पनि सार्वजनिक गर्नमा ढिलाइ भएको बताउँदै दानीले पनि घोषणा गरे अनुसारको रकम अझै नबुझाएको बताए ।
महायज्ञमा नगद रु एक करोड ५० लाख उठेकोमा दाङमा रहेको एक बंैकमा रु ७५ लाख अक्षयकोषका रुपमा राखिएको छ भने करिब रु ४५ लाख जति महायज्ञमा खर्च भएको र बाँकी रकम क्याम्पसले सापटी लगेको अध्यक्ष हमालले जानकारी दिए ।
महायज्ञमा विभिन्न पाँचजना दानीले जग्गासमेत दान गरेको भएपनि हालसम्म कसैले पनि जग्गा क्याम्पसलाई रजिस्ट्रेसन पास नगरिदिएको हमालले बताए ।

Loading...