भूकम्पपीडितले फेरी थप एकलाख पाउने

काठमाडौँ, ६ असोज – निजी घर पुनःनिर्माणका लागि भूकम्पपीडित जनतालाई रु एक लाख थप गर्ने सम्बन्धमा छलफल गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आइतबार बस्ने भएको छ ।

यसअघि सरकारले निजी घर पुनःनिर्माणका लागि भूकम्पपीडितप्रति परिवारलाई रु दुई लाख अनुदान दिने निर्णय गरेको थियो । सरकारले त्यसमा रु एक लाख थप गरी रु तीन लाख दिने घोषणा गरिसकेको छ ।

यस्तै रु तीन लाख निब्र्याजी ऋण उपलब्ध गराउने, भूकम्पपीडित जनतालाई पहिलो किस्ताको रकम उपलब्ध गराउनेसम्बन्धी ४५ दिने कार्य योजना र कार्य प्रगतिको अवस्थालगायत एजेन्डा तय गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

“प्राधिकरणको सङ्गठनात्मक संरचना, कार्य प्रणाली र जनशक्ति व्यवस्थापन, प्राधिकरणकोे वार्षिक नीति, कार्यक्रम एवम् बजेट पनि बैठकका एजेन्डा छन्”–उनले भने ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बस्न लागेको हो । प्राधिकरण निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने कानुनी प्रावधान छ ।

बैठकका तयारी सम्बन्धमा प्राधिकरणका प्रमुख कार्यकारी अध्यक्ष सुशील ज्ञवालीले प्रधानमन्त्री दाहालसँग भेटी छलफल गर्नुभएको प्रवक्ता थपलियाले बताए ।