काठमाडौँ, ६ असोज – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको गुटबन्दीप्रति चिन्ता व्यक्त गरेका छन् ।
वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित ‘आगो निभेको छैन’ पुस्तकको विमोचन गर्न यहाँ आज आयोजित समारोहमा नेता पौडेलले पार्टीभित्र बढ्दै गएको गुटबन्दीले काँग्रेस कता जाँदैछ भनी चिन्ता व्यक्तगर्दै गर्दै आफू रहेसम्म पार्टी कुनै पनि हालतमा फुट्न नदिने बताए ।

उनले भने , “मैले पार्टी सभापति शेरबहादुर देउवालाई ‘तपाई सभापति भइसक्नुभयो, तीनपटक मुलुकको प्रधानमन्त्री पनि हुनुभयो अब सीमित घेरामा नबस्नुस् भनी सुझाव दिएँ ।”

ठूलो बलिदानी र सङ्घर्षबाट आएको पार्टीको लेखाजोखा नगरी अघि बढ्न सकिदैन भन्दै उहाँले भने , “मैले निर्वाचनमा हारे पनि सभापति शेरबहादुर देउवालाई अप्ठ्यारो पारेको छैन । पार्टीमा गुटबन्दीको अन्त्य र पार्टीलाई एकाकार गरी अघि बढाउन म सधैं तयार छु ।”

नेता पौडेलले सभापति देउवालाई परम्परागत गुटबन्दीको अन्त्य गरी आफूसँग समझदारी गरेर अघि बढे बीचमा बागीले खेल्न नपाउने सुझाव पनि दिएको जानकारी दिए ।

कार्यक्रममा काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले लोकतन्त्र र शान्तिसँग सम्बन्धित काम गर्न अझै बाँकी रहेको बताउँदै संविधानको स्वामित्व बढाउन संविधान संशोधनको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनआन्दोलन र लामो सङ्घर्षपछि मुलुक आजको अवस्थासम्म आइपुगेको बताउँदै आन्दोलनले ठूलो परिवर्तन ल्याए पनि राजनीतिक नेतृत्वले जनताले चाहेअनुरुप काम गर्न नसकेको विचार व्यक्त गरे ।
काँग्रेस नेता प्रदीप गिरीले वरिष्ठ पत्रकार विरहीको पुस्तकमाथि विवेचना गर्दै क्रान्तिबाट नगुज्रिएको मुलुक र प्रेमबाट नगुज्रिएको मानिस अपूर्ण हुने धारणा राखे ।}