वन्यजन्तुको बाटोमा विमानस्थल

काठमाडौं, असोज ७ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आठ हजार हेक्टर वन क्षेत्र कटानी हुँदा दुर्लभ वन्यजन्तु ओहोरदोहोर गर्ने पुरानो जैविक मार्ग विनाश हुन सक्ने विज्ञहरुले औंल्याएका छन् । त्यसको असर मानवीय वस्तीमा पर्ने उनीहरुको चेतावनी छ ।
बारास्थित पूर्व–पश्चिम राजमार्ग तथा निजगढ नगरपालिकाको पश्चिममा रहेको बकैया नदीदेखि राजमार्गको दक्षिण पसाहा खोलासम्मको करिब १० किलोमिटर र राजमार्गबाट दक्षिणको सपहीदेखि हरैयासम्म उत्तर –दक्षिण करिब ८ किलोमिटर चौडाइको क्षेत्र समेटेर अन्तर्राष्ट्रिय विमानस्थल प्रस्ताव गरिएको छ । त्यसका लागि अहिले वातावरणीय परीक्षण हुँदैछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।