इपिएलको पहिलो खेलमा पञ्चकन्या विजयी

काठमाडौं असोज ९ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पञ्चकन्या तेज विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पञ्चकन्याले जगदम्बा राइनोजलाई छ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको जगदम्बाले निर्धा्रित २० ओभरमा चार विकेट गुमाउँदै १२९ बनायो । जितका लागि १३० रनको लक्ष्य पाएको पञ्चकन्याले १९ ओभरको समाप्तिमा नै लक्ष्य भेट्टायो । पञ्चकन्याको जितमा पृथु बास्कोटाले ४८, आरिफ शेखले ३३ तथा कप्तान शरद भेषावकरले २७ रन बनाए ।tu
यता, जगदम्बाका सोमपाल कामीले अविजित रहँदै ४३ रन बनाए पनि आफ्नो टोलीलाई जिताउन भने सकेनन् । त्यस्तै पञ्चकन्याका तर्फबाट सुशील कँडेलले तीन विकेट लिए ।
जोहरा स्पोटर्स म्यानेजमेन्टको आयोजनामा आज सुरु भएर १७ गतेसम्म चल्ने भनिएको इपिएलमा छ फ्रेन्चाइज टोलीले भाग लिएका छन् । यसअघि शनिबार सुरु हुने भनिएको इपिएल वर्षाका कारण रोकिएको थियो । प्रतियोगितामा पञ्चकन्या तेज, विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्सले छन् । राउन्ड रोबिन लिगका आधारको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
नेपालमा पहिलोपटक यति ठूलो प्रतियोगिता आयोजना हुन लागेको आयोजकको दाबी छ । हुन पनि यसका सबै टोलीसँग नेपालका ठूला कर्पोरेट हाउस जोडिएका छन् ।
आइपिएल (इन्डियन प्रिमियर लिग)को शैलीमा हुने इपिएल प्रतियोगितामा प्रत्येक टोलीका कप्तानले हरेक खेलबापत रु २० हजार पाउनेछन् । हरेक टोलीको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका सदस्यले गरेका छन् जसमा विशाल वारियर्सको कप्तान राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहेका छन् ।
त्यस्तै कलर्स एक्स फ्याक्टर्समा ज्ञानेन्द्र मल्ल, जगदम्बा राइनोजमा शक्ति गौचन, कान्तिपुर गोर्खाजमा वसन्त रेग्मी, पञ्चकन्या तेजमा शरद भेषवाकर र सगरमाथा लिजेन्ड्समा विनोद भण्डारीको कप्तानी रहेको छ । त्यसैगरी सबै टोलीमा राष्ट्रिय टोलीका खेलाडीको उत्तिकै ठूलो उपस्थिति छ । प्रतियोगिताअन्तर्गत अहिले सगरमाथा लेजेन्ड्स र कान्तिपुर गोर्खाजबीच खेल भइरहेको छ ।

Loading...