एमाले केन्द्रीय कमिटी बैठक : महासचिवको प्रतिवेदन पारित

umlकाठमाडौं, असोज ९ –  नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले सातै प्रदेश, जिल्ला र जनसङ्ठनले आगामी कात्तिक १५ गतेभित्र आआफ्नो क्षेत्रको योजना केन्द्रमा पठाउने सहितको पार्टीका महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा आज बसेको पाँचौँ दिनको बैठकमा महासचिव पोखरेलले पेश गर्नुभएको सङ्गठनात्मक प्रतिवेदन सुझावसहित बैठकले पारित गरेको हो ।

प्रतिवेदनमा सङ्गठन सुदृढीकरण तथा परिचालन अभियान सञ्चालन गर्ने, स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको नीतिगत मान्यता र संविधानको प्रावधानअनुरुप स्थानीय तहको पुनःसंरचनामा स्थानीय कमिटीले समन्वय गर्ने, आफ्ना सुझाव आयोग र पार्टी केन्द्रमा पठाउने रहेको छ ।

त्यस्तै, समयावधि पुगेका जिल्ला तथा जनसङ्गठनका अधिवेशन तत्काल आयोजना गर्ने, जनसङ्गठनले तत्कालै प्रदेश कमिटी निर्माण गर्ने, प्रदेश कमिटीमा विभाग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासन समिति, लेखा समिति, निर्वाचन समिति निर्माण गरी कार्यकर्ताको जिम्मेवारीको व्यवस्थापन गर्ने रहेको छ ।

महासचिव पोखरेलको सङ्ठनात्मक प्रतिवेदनमा स्थानीय तहमा देखिएका अन्तरविरोध हल गर्ने, प्रभावकारी प्रचार अभियानमा जोड दिने, सङ्गठन र स्वयम्सेवक तयार गरेर निर्वाचनको तयारीमा जुट्ने, प्रत्येक प्रदेश र जिल्लाले आफ्नो क्षेत्रको समृद्धिको योजना छ महिनाभित्र तयार गरी केन्द्रमा पठाउने आदि रहेको छ ।

प्रतिवेदनमा सङ्गठनात्मक क्षेत्रका समस्या र समाधानका बारेमा सातवटै प्रदेशमा कार्यशाला आयोजना गर्ने, नवौँ महाधिवेशनले पारित गरेको सङ्गठन निर्माणसम्बन्धी प्रस्तावका आधारमा पार्टी सङ्गठन निर्माण तथा परिचालन गर्ने, पार्टीमा विधान, नियमावलीले निर्दिष्ट गरेका प्रावधान कडाइका साथ पालना गर्ने पनि उल्लेख छ ।

त्यसैगरी, प्रदेश सङ्गठन कमिटीले आआफ्नो कार्यालयको व्यवस्थापन तत्कालै गर्ने, पुराना अञ्चल समन्वय कमिटीले आआफ्नो प्रतिवेदन तथा चल÷अचल सम्पत्ति सम्बन्धित प्रदेश कमिटीलाई हस्तान्तरण गर्ने रहेको छ ।

प्रतिवेदनमाथि प्रकाश ज्वाला, ठाकुर गैरे, डा विजय पौडेल, देवशङ्कर पौडेल, विक्रम शाही, श्रीप्रसाद साह, सूर्य थापा, सानुकुमार श्रेष्ठ, चूडामणि जङ्गली, खगेन्द्र राई, रुपनारायण श्रेष्ठ, प्रतापलाल श्रेष्ठ, जगत विश्वकर्मा, खगेन्द्र चुँडाल, खिमलाल भट्टराई, रवीन कोइराला, सुजिता शाक्य, रामकुमारी झाँक्री, बेदुराम भुसाल, किरण गुरुङ, राजेन्द्र पाण्डे र गोविन्द नेपालीले मौखिक तथा लिखित सुझाव दिएका थिए ।

केन्द्रीय कमिटीको अर्को बैठक असोज ११ गते अपराह्न ३ बजे पुनः बस्ने गरी सकिएको छ ।