इलाकालाई आधार मानेर स्थानीय तह बनाइने

इलाकालाई आधार मानेर स्थानीय तह बनाइने

गाउँपालिका तथा नगरपालिकाको संख्या बढ्ने
तीन दलबीचको सहमतिअनुसार अब स्थानीय तह बनाउँदा नौ सयको हाराहारीमा हुन सक्ने छलफलमा सहभागी कांग्रेस नेता गोपालमान श्रेष्ठले बताए । ‘पाँच सय ६५ को संख्याले पुगेन भन्ने भयो, जिल्ला–जिल्लामा गुनासा आए, त्यसैले इलाकालाई आधार मानेर पुनः स्थानीय तहको संख्यामा जान दलहरू तयार भएका हुन्,’ उनले भने । अहिले देशभर तीन हजार एक ५७ गाविस र दुई सय १० वटा नगरपालिका छन् ।

भदौ मसान्तको सीमा
यसअघि गत भदौ मसान्तसम्म आयोगले प्रत्येक जिल्लालाई सीमा, संख्या निर्धारण गरेर प्रतिवेदन पठाउन भनेको थियो । तर, भदौसम्म ४८ जिल्लाले मात्र प्रतिवेदन पठाएका थिए । २ नम्बर प्रदेशका तराईमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सामा छलफल नै हुन सकेको थिएन । आएकामध्ये मापदण्डविपरीत भएको भन्दै आयोगले ६ जिल्लाको प्रतिवेदन फिर्ता गरेको थियो । ८ जिल्लाबाट सर्वसम्मतिमा प्रतिवेदन आएको थियो । दाङमा आयोगले १० वटा स्थानीय तह प्रस्ताव गरेकोमा दलहरूले आठवटामा सहमति गरेर पठाएका थिए ।

इलाकाको विकल्प उत्तम र कम विवादित : देउवा
प्रधानमन्त्रीको प्रस्तावलगत्तै सुरुदेखि नै इलाकालाई आधार मानेर स्थानीय तह बनाउन प्रस्ताव गर्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले दलबीच आयोगको पाँच सय ६५ को संख्यामा कुरा नमिलेपछि इलाकाको विकल्प उत्तम र कम विवादित हुने बताए । ‘पाँच सय ६५ को संख्यामा दलहरूबीच कुरा मिलेन । अब छिटो स्थानीय तह बनाएर चुनावमा जान पनि ढिलाइ भइसक्यो, त्यसैले मानसिक रूपमा पनि सबैले मान्ने र विवाद कम हुने गरी इलाकालाई नै आधार मानेर स्थानीय तह बनाउँ,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले भने ।

आयोगको प्रस्तावमा हाम्रो सहमति : एमाले
एमाले अध्यक्ष केपी ओली बैठकमा सहभागी थिएनन् । एमालेबाट माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावलसहितका नेता सहभागी थिए । प्रधानमन्त्रीले प्रस्ताव गरेलगत्तै एमाले नेताहरूले बालुवाटारको छुट्टै कोठामा बसेर केहीबेर छलफल गरेका थिए । छलफलपछि उपाध्यक्ष गौतमले बैठकमा आएर सुनाए, ‘आयोगको प्रस्तावमा हाम्रो आपत्ति छैन । आयोगले प्रस्ताव गर्ने पाँच सय ६५, सात सय वा नौ सय २७ इलाका नै मान्छ भने पनि हामी मान्छौँ । हाम्रा लागि आयोगको प्रतिवेदन नै अन्तिम हुन्छ । इलाकालाई आधार मानेर स्थानीय तह बनाउने प्रधानमन्त्रीको प्रस्तावमा पनि हामी (एमाले) सकारात्मक छौँ ।’

इलाकालाई आधार मान्दै स्थानीय तहबारे पुनः प्रस्ताव
कांग्रेस र एमालेले इलाकालाई आधार मान्नेगरी सहमति जनाएपछि प्रधानमन्त्री प्रचण्डले निष्कर्ष सुनाउँदै भने, ‘तीन दलबीच इलाकालाई आधार मानेर स्थानीय तह गठनको सैद्धान्तिक सहमति भयो । अरू दलसँग पनि कुरा गरिरहेको छु । अझै थप छलफल गुर्छ । अब पुनर्संरचना आयोगलाई इलाकालाई आधार मान्दै स्थानीय तहबारे पुनः प्रस्ताव गर्न भन्छौँ । कस्तो मापदण्डमा रहेर काम गर्ने भन्ने अब आयोगसँग बसेर सरकारले तय गर्छ ।’

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले इलाकालाई आधारमा मान्दै आठ सयदेखि नौ सयसम्म स्थानीय तह बनाउनेबारे सैद्धान्तिक सहमति भएको जानकारी दिइन् । ‘यसअघिका नौ सय २७ इलाकालाई आधार मान्दै आठ सयदेखि नौ सयसम्म स्थानीय तह बनाउने सहमति भएको छ,’ भुसालले नयाँ पत्रिकासँग भनिन्, ‘सरकारले मंगलबारसम्म आयोगलाई टिओआर दिन्छ ।’ दलहरूले आगामी चैतसम्म स्थानीय तह बनाएर चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।