चरेस खान इरानदेखि नेपाल

चरेस खान तीन वर्षदेखि नेपाल आउजाउ
उनी १६ वर्षदेखि चरेसका अम्मली हुन् । तीन वर्षयता नेपालको चरेसले उनलाई मोहित बनाएको थियो । पटक–पटक नेपाल आएर चरेस लिएर जाने उनी यसपटक भने फन्दामा परेका छन् । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)को टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई एक किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको छ । मुम्बई हुँदै श्रीलंका जान खोज्ने क्रममा उनी पक्राउ परेको एनसिबीका डिएसपी अपिल बोहराले बताए ।

निक्जामिर बाग्लुङ पुगेर आफैँले उक्त चरेस बनाएका थिए । चरेस गाँजाबाट बन्छ । पहाडी जिल्लाको गाँजाको चरेस राम्रो हुने भएकाले उनी आफैँ बाग्लुङ गएर चरेस बनाएका थिए । नेपालको गाँजामा टेट्रा हाइड्रो क्यानाबिनल (टिएचसी) धेरै हुने भएकाले नेपालको चरेस विश्वभर माग हुने गरेको छ । उनी पनि नेपाली चरेसको स्वादमा पल्किएका थिए ।

बाबुको घर छाड्ने आदेशपछि भारतमा
इरान घर भए पनि उनी पछिल्लो समय श्रीलंका र भारतमा बस्न थालेका थिए । चरेसको अम्मली भएकै कारण बुबाले केही पैसा दिएर घर छाड्न लगाएपछि आफू भारत आएको उनले बताएका छन् । एक सांगीतिक ब्यान्डमा उनी ड्रमरका रूपमा काम गर्छन् । उनकी प्रेमिका शुक्रबार स्वदेश फर्किएकी थिइन् । बरामद भएको चरेस आफैँलाई सेवन गर्न उनले लैजान लागेका थिए । सुटकेसमा फल्सबटम बनाएर लुकाएको अवस्थामा चरेस बरामद भएको थियो । उनको साथबाट ४ सय ५ ग्राम यार्सागुम्बा पनि बरामद भएको छ । जुन अवैध भएकाले उनलाई वन ऐनअनुसार कारबाही हुने भएको छ ।

ठमेल चरेस हब
चरेसकै लागि नेपाल आउने उनी एक्ला विदेशी भने होइनन् । नेपालमा धेरै विदेशी नागरिक चरेसलगायत लागुऔषध सेवनका लागि नेपाल आउँछन् । पछिल्लो समय ठमेल चरेस सेवनको हब बन्दै भएको छ । पछिल्लो समय प्रहरीले हरेक साता ठमेलमा चरेस बरामद गर्दै आएको छ । दुई साताअघि मात्र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले चित्र गुरुङ र नारायण खनाललाई पाँच केजी चरेससहित पक्राउ गरेको थियो । पछिल्ला तीन महिनामा ठमेलमा २० केजीभन्दा धेरै चरेस बरामद भइसकेको छ । विदेशीकै लागि लक्षित गरी ठमेलमा चरेस भित्रिने गरेको डिएसपी सोमेन्द्रसिंह राठौर बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।