तीन वर्षमा २२ हजार गरिबले लगे राज्यबाट उपचार खर्च

तीन वर्षमा २२ हजार गरिबले लगे राज्यबाट उपचार खर्च

सबैभन्दा धेरै उपचार खर्च लानेमा क्यान्सर रोगी
सरकारले छुट्याएका आठ प्रकारको गम्भीर रोगमध्ये सबैभन्दा बढी क्यान्सरका बिरामीले विपन्न नागरिक उपचार कोषबाट उपचार गराएका छन् । कोषअन्तर्गतको व्यवस्थापन महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार तीन वर्षमा नौ हजार तीन सय ७० जनाले क्यान्सरको उपचार गरेका छन् ।

०७०/७१ मा चार हजार ४९ जनाले उपचार खर्च लगेकोमा ०७१-७२ मा २७ सय ४४ जना र गत वर्ष २५ सय ७७ जनाले उपचार खर्च लगेका छन् । अन्य रोगको उपचार खर्च लैजानेमा घटबढ भए पनि क्यान्सरको उपचारका लागि पैसा लैजानेको संख्या क्रमशः घट्दै गएको सचिवालयका स्वास्थ्य कार्र्यकर्ता प्रकाश घिमिरे बताउँछन् । सरकारले क्यान्सर रोगको उपचार गराउन एक व्यक्तिलाई एकपटकका लागि एक लाख दिँदै आएको छ ।

1

दोस्रोमा मिर्गौला रोगी
विपन्न नागरिक उपचार कोषबाट उपचार खर्च लैजानेमा दोस्रो नम्बरमा मिर्गौलाका बिरामी रहेका छन् । तीन वर्ष अवधिमा ६ हजार दुई सय ६६ जना मिर्गौला रोगीले सरकारबाट पाउँदै आएको उपचार खर्च लगेका छन् । अघिल्लो तेस्रो वर्षमा दुई हजार ६ सय २५ जनाले उपचार खर्च लगेका थिए, त्यसैगरी दोस्रो वर्षमा त्यो संख्या घटेर एक हजार तीन सय ५४ जनामा झरेको थियो, तर गत वर्ष बढेर दुई हजार दुई सय ८७ जना पुगेको छ ।

सरकारले मिर्गौलाका बिरामीलाई तीन तहमा खर्च उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्षसम्म साताको दुई दिन होमोडायलोसिस सेवा निःशुल्क दिँदै आएकोमा यस वर्षदेखि आजीवन निःशुल्क गरेको छ । तर, सातामा दुईपटकभन्दा बढी गर्नेले थप व्ययभार आफैँले व्यहोर्नुपर्नेछ । त्यसैगरी, मिर्गौला प्रत्यारोपण गर्न चाहनेका लागि प्रत्यारोपण खर्चस्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । प्रत्यारोपणपछि सेवन गर्नुपर्ने औषधिका लागि भने एकपटकलाई एकमुष्ट एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

 बढ्दै छन् मुटुका बिरामी
नेपालमा प्रत्येक वर्ष मुटुका बिरामीको संख्या बढ्दै गएको छ । महाशाखाको तथ्यांकमा प्रत्येक वर्ष मुटुरोगीको संख्या बढ्दै गएको देखिएको छ । तीन वर्षको अवधिमा ६ हजार एक सय ५८ जना मुटुका बिरामीले सरकारबाट उपचार खर्च लगेका छन् । आर्थिक वर्ष ०७०÷७१ मा १४ सय ७८ जना मुटुका बिरामीले उपचार खर्च लगेकोमा ०७१-७२ मा १९ सय र गत वर्ष २५ सय ७७ जनाले लगेका छन् । मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । १५ वर्षमुनि र ७० वर्षमाथिका बिरामीका लागि भने सरकारले औषधिसहित निःशुल्क उपचार दिँदै आएको छ ।

 सिकलसेल एनिमियाका रोगी बढे
सरकारले आव ०७१-७२ बाट सिकलसेल एनिमियाका बिरामीलाई पनि उपचार खर्च दिन थालेको छ । पहिलो वर्ष ३९ जनाले खर्च लगेका थिए । गत वर्ष यो संख्या बढेर तीन सय ३१ जना पुगेको छ । हेड इन्जुरी भएका ८७, स्पाइनल इन्जुरी २७, पार्किन्सन्स १६ र अल्जाइमर्स
भएका १७ बरामीले उपचार खर्च लिएका छन् ।

बढ्दै आर्थिक भार
आर्थिक वर्ष ०७१-७२ मा सरकारले कडा रोगको उपचारका लागि भनेर ४७ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, त्यति बजेटले नपुगेको भन्दै अर्को वर्षको बजेटबाट तिरेको थियो । गत वर्ष ७५ करोड छुट्याएकोमा नपुगेपछि थप २८ करोड माग गरेको थियो । जसमा एक अर्ब एक करोड रुपैयाँ विपन्न नागरिक उपचारका लागि खर्च भएको घिमिरे बताउँछन् । यस वर्षदेखि मिर्गौलाको डायलोसिस आजीवन निःशुल्क गरेकाले संख्या झनै बढ्ने उनको भनाइ छ । चालू आवका लागि सरकारले विपन्न नागरिक उपचारका लागि भनेर एक अर्ब रुपैयाँ छुट्याएको छ । यसबाहेक सरकारले पहुँचका आधारमा क्याबिनेटबाट सीधै उपचार खर्च दिँदै आएको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।