धुवाँ देखिएपछि १६३ यात्रु बोकेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवरतरण

काठमाडौँ, १० असोज – नेपाल वायु सेवा निगमको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको ‘लुम्बिनी’ एयरबस एक्कासि धुवाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

चालक दलका सदस्यसहित १६३ यात्रु रहेको विमानमा १२ हजार पाँच सय फिट उचाइमा रहेका अवस्थामा धुवाँ देखिएपछि अवतरण गराइएको निगमका प्रवक्ता रामकृष्ण शर्माले जानकारी दिए ।

उनका अनुसार नेपालभित्रको सिमानामा प्रवेश गरेपछि एयरबसमा जहाजभित्र धुवाँ देखिएपछि काठमाडौं टावरलाई सम्पर्क गरी आकस्मिक अवतरण गराइएको हो । विमानमा रहेका सबै यात्रु सकुशल भएको र धुवाँ देखिनाका बारेमा परीक्षण गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए ।