फोनको घन्टी बजिरह्यो तर भेटिएनन् पूर्वगृहमन्त्री घिमिरे

  दुर्घटनाको १७ घन्टापछि घिमिरेको फोनबाट चितवनका एसपीलाई कल आयो

घिमिरेले नै फोन गरेको हुनसक्ने आशा प्रहरीको थियो । लगत्तै प्रहरी टोली खोला क्षेत्रमा गएर सर्च सुरु ग-यो । दुर्घटना भएको स्थानमा सर्च गर्दा मोबाइल दुर्घटना भएको घोप्टेभीरको नदीनजिकै च्यापिएको अवस्थामा भेटियो । थिचिएर घिमिरेको मोबाइलबाट एसपी कुँवरको मोबाइलमा डायर भएको रहेछ । ‘उहाँको मोबाइलमा फोन गइरहेको थियो,’ एसपी कुँवरले भने, ‘भीरमा सर्च गर्ने क्रममा थिचिएर मोबाइलबाट मेरो मोबाइलमा डायल भएको रहेछ ।’

दुर्घटना स्थल

दुर्घटना स्थल

सोमबार पनि खोजी जारी
सोमबार पनि बिहानैदेखि त्रिशुली नदीमा खोजी भएकोमा केही पत्ता नलागेको प्रहरीले जनाएको छ । पूर्वगृहमन्त्री घिमिरे तथा उनका दुई भाइ प्रकाश र मोहन दुर्घटनापछि बेपत्ता छन् । दुर्घटनामा परी घिमिरेकी आमा चैतत्यकुमारी, भान्जा नारायणप्रसाद काफ्ले तथा अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो । उनीहरूको शव पाखामा भेटिएको थियो । गाडीमै रहेका प्रहरी हवल्दारसमेत रहेका चालक विष्णु राई घाइते छन् । उनको उपचार भइरहेको छ ।

सोह्र श्राद्धमा आमा, भाइ तथा भान्जासहित मुक्तिनाथ पुगेर बाबुको श्राद्ध गरेपछि फर्कने क्रममा घिमिरे चढेको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्तस्थलमा घिमिरेको झोला तथा मोबाइल भेटिएको छ । तर, त्रिशुलीमा पानीको बहाव धेरै भएकाले केही फेला परेको छैन । सशस्त्र  प्रहरी तथा नेपाली सेनाका तालिम प्राप्त प्रहरीले खोलामा सर्च अभियान जारी राखेका छन् ।

यातायातमन्त्री पुगे दुर्घटनास्थल

ramesh
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सोमबार दुर्घटनास्थलको अवलोकन गरेका छन् । दुर्घटनास्थलबाटै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मोबाइल फोनमा सम्पर्क गरी खोजतलास तथा उद्धार कार्यबारे जानकारी गराएका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले बंगलादेशबाट गोताखोर ल्याएर भए पनि बेपत्ता घिमिरेको खोजी गर्न कूटनीतिक पहल गर्ने बताए । उनले खोजी अभियानलाई तीव्रता दिन निर्देशनसमेत दिए । सोही स्थानमा गत २५ भदौमा काठमाडौंबाट मुग्लिन जाँदै गरेको ट्रक खसेको थियो । ट्रकका चालक र सहचालक अहिलेसम्म भेटिएका छैनन् । उक्त स्थानमा पटकपटक दुर्घटना हुने गरेको छ । त्रिशूलीमा खसेका कतिपय यात्रु तथा गाडी फेला परेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।