सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो रनिङ्ग ट्रफि प्रतियोगिता सुरु

काठमाडौं, असोज ११ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो रनिङ्ग ट्रफि–२०७३’ सुरु भएको छ । सोह्रौँ सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित सो प्रतियोगिताको आज सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे ।
सशस्त्र प्रहरी बल केन्दीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले फुटबलका राष्ट्रिय रेफ्री सहदेव श्रेष्ठलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिताको विधिवत रुपमा सुरु गरेका हुन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलले प्रतियोगिताबारे जानकारी गराए । असोज १६ गतेसम्म संचालन हुने सो प्रतियोगितामा फुटबल, भलिबल तथा एथलेटिक्सका खेलहरु समावेश छन् ।ff
उक्त प्रतियोगिताका सवै इभेन्ट्सका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संचालन हुनेछ । प्रतियोगितामा महानगरीय सशस्त्र प्रहरी कार्यालय, बराह बाहिनी, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनी टिम गरी कूल ६ टिमको सहभागीता रहेको छ ।
आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा फुटबलतर्फ मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैयाले पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनी पोखरालाई १–० ले पराजित गरेको छ ।
यसैगरी भलिबलतर्फ मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतले पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी सुनसरीलाई ३–२ को सेटले पराजित गरेको छ ।
समारोहमा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतलगाएत अन्य एपीएफ अधिकृत तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।