गोरखाको स्याउले बजार पाएन

गोरखा, ११ असोज । ल्हो गाविस– ५ का छेवाङ नर्वु लामाको बारीमा लटरम्म स्याउ पाकेका छन् । बारीका पाँच बोटमा फलेका स्याउ बिक्री नहुँदा कुहिने अवस्थामा पुगिसकेको छ । हाँगा भाँचिएला जस्तै गरी स्याउ फले पनि बिक्री गर्न भने सकिएको छैन ।
“दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु ?,” लामाले भन्नुभयो । लामाको मात्रै होइन, उत्तरी गोरखाका ल्हो, प्रोक, बिहीलगायत गाविसका किसानका बारीमा राताम्मे भएर अहिले स्याउ पाकेको छ । तर बिक्री हुन सकेको छैन ।
“मनास्लु पदमार्गमा पर्यटक हिँडे फाट्टफुट्ट स्याउ बिक्री हुन्छ,” लामाले भने पदमार्गको आसपासमा खुलेका होटलमा स्याउ बिक्रीका लागि राखिएको भए पनि बिक्री नहुँदा किसान चिन्तित छन् । पाकेको स्याउ सदरमुकाम तथा काठमाडौँ पु¥याउन सके मनग्य आम्दानी हुने किसान बताउँछन् । apple
सडक पहुँच नहुँदा स्याउ ढुवानी गर्न सकिएको छैन । मनास्लु संरक्षण क्षेत्र आयोजना र जिल्ला कृषि विकास कार्यालयले बर्से्नि स्याउका बिरुवा बाँड्ने गरेका छन् । यस वर्ष मनास्लु पदमार्ग भएर पर्यटक नआएका कारण स्याउको बिक्री ह्वात्तै घटेको छ । बिक्रीमा ह्रास आएपछि किसानले छ्याङ, रक्सी बनाउन थालेका छन् । स्याउलाई कुहिन नदिन छ्याङ बनाउनुपरेको प्रोकका पेमा लामा बताउँछन् ।
सदरमुकामबाट स्याउ उत्पादित क्षेत्रमा पुग्न करिब पाँच÷छ दिन लाग्छ । किसानले बाटो असजिलो भएका कारण स्याउ बजारसम्म पु¥याउन सकेका छैनन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख राजकुमार गुरुङका अनुसार खच्चडबाट स्याउ ढुवानी गर्दा धेरै महँगो पर्छ । “स्याउभन्दा ढुवानीको पैसा बढी लाग्छ,” उनले भने । सरकारले स्याउ ढुवानीमा सहयोग गर्न सकेमा उत्तरी भेगमा उत्पादित स्याउ बजारसम्म ल्याउन सकिने गुरुङको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख तीर्थकुमार श्रेष्ठ स्याउका चाना बनाएर राख्न सकिने बताउछन् । उत्पादन राम्रो भए पनि उत्पादित स्याउले बजार नपाउँदा उत्तरी भेगका किसान व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् । बजारमा भारतीय स्याउको मूल्य दिनहुँ आकासिएको छ तर, उत्तरी गोरखाका विभिन्न ठाउँमा फलेका स्याउ बजारसम्म ल्याउन सकिएको छैन ।