धादिङको बस दुर्घटना मृत्यु हुनेको संख्या १८ पुग्यो, १३ को सनाख

घाइतेको हेलिकोप्टरमार्फत उद्धार

धादिङ, असोज ११ । धादिङको मार्पाक–६ मा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा २० जनाभन्दा बढि घाइतेको भएका छन ्। घाइते मध्ये १३ जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।
धादिङवेशीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्वरको बस मंगलबार मार्पाक–६ लपाङफेदीमा दुर्घटना भएको थियो । दुर्घटनामा पर्नेहरु अधिकांश सरकारले भूकम्पपीडितहरुलाई घर बनाउन दिएको ५० हजार रुपैयाँ अनुदान लिएर जाने उत्तरी धादिङका स्थानीयबासीहरु रहेको स्थानीय मरिचमान तामाङले जानकारी दिए ।
धादिङवेशीको टिकट काउन्टरबाट ३० जनाको चलानी लिएर किन्ताङफेदी गएको गाडीमा बीच बाटोमा थप यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । बस सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ ।
मृतकमध्ये १३ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सत्येदेवी–२ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनका पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
यसैगरी सत्येदेवी–३ का तिलबहादुर तामाङ, री गाउँ विकास समिति–८ का चन्द्रमान तामाङ, वडा नम्बर ८ कै मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दीलकुमारी पौडेल र उनकी छोरी कमला पौडेलको पहिचान खुलेको छ ।
त्यसैगरी बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । घटनालगत्तै काठमाडौंमै रहेका कांग्रेस धादिङका सभापति रमेश धमला हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए ।
उनी गएको हेलिकप्टरबाट ६ गम्भीर घाइतेलाई तत्कालै काठमाडौं पठाइएको र थप ७ जनालाई नेपाली सेनाको हेलिकप्टर झिकाएर उपचारका लागि शिक्षण अस्पताल महाराज पठाइएको धमलाले जानकारी दिए ।