eeuकाठमाडौं, असोज १२ – युरोपेली महासंघ (ईयू) ले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम असन्तुष्ट बनेका हुन् ।

महत नेतृत्वको टोली ब्रसेल्स हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको थियो । त्यसैअनुसार ब्रसेल्सस्थित नेपाली दूतावासले महतको ईयू अध्यक्ष जो क्लाउड योङर र बेल्जियमका परराष्ट्रमन्त्री डिडिआर रेग्डरसँग भेटघाटको समय मिलाएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित नेपाल भ्रमण र आफ्नो अपर्झट गोवा भ्रमण तयारीका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले छिटो स्वदेश फर्किन परराष्ट्र सचिव शंकरदास बैरागीलाई निर्देशन दिएपछि महत टोलीको ब्रसेल्स भ्रमण स्थगित गरिएको हो ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर अमेरिकाको राजधानी वासिङटन डीसी पुगेका महत र बैरागी शनिबार मात्रै काठमाडौं फर्किंदै छन् । परराष्ट्रमन्त्री महत बिहीबार फर्कने तयारी गरिएको भए पनि अमेरिकास्थित नेपाली दूतावासले गर्ने राष्ट्रिय दिवसमा उपस्थिति जनाउन उनले बसाइ लम्ब्याएको उनका प्रेस संयोजक एकराज पाठकले बताए ।

न्युयोर्कबाट सीधै काठमाडौं जानुपर्ने भएकाले भेटघाट रद्द गरिएको जानकारी ईयूलाई गराइएको भए पनि टोली अमेरिकामै रहेको थाहा पाउँदा अझै नराम्रो हुन सक्ने एक कूटनीतिज्ञले बताए । अन्तिम समयमा जोडबल गरेर तय गरिएको भेटघाट आफैं रद्द गर्नुपर्दा दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।