असुरक्षित बन्दै सडक, हरेक साताजसो दुर्घटना, तीन वर्षमा २३ गाडी त्रिशुलीमा

हाम्रा सडक धेरै असुरक्षित

प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन् । गत २४ भदौमा ना.३ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो । चालक तथा सहचालकसहित ट्रकको हालसम्म अत्तोपत्तो छैन । तीन वर्षको तथ्यांकअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ । ७२ जना घाइते भएका छन् । त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन् । ०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए ।

भदौमा एक सय ६० को मृत्यु
गत ३१ साउनमा काभ्रेमा भएको सवारी दुर्घटनापछि देशभरि ट्राफिक नियम पालनामा कडाइ गरिएपछि पनि दुर्घटनामा कमी आएको छैन । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार भदौमा देशभर एक हजार तीन सय ९६ दुर्घटना भएका छन् । जसमा एक सय ६० जनाको मृत्यु भएको छ ।

साउनमा एक हजार चार सय ३६ वटा दुर्घटना भएकोमा एक सय ८० जनाको मृत्यु भएको थियो । साउनको तुलनामा भदौमा दुर्घटनामा कमी आएको छ । साउनमा चार सय २० जना गम्भीर घाइते भएका थिए भने आठ सय ७८ जना सामान्य घाइते भएका थिए । भदौमा दुई सय ५३ गम्भीर घाइते तथा आठ सय ४० सामान्य घाइते भएका थिए ।

काभ्रे बस दुर्घटनापछि सबै जिल्लामा कडाइ
गत ३० साउनमा काभ्रेमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएपछि सबै जिल्लामा कडाइ गरिएको थियो । रुट परमिट नलिई ग्रामीण क्षेत्रमा बस चलाइएकोमा रोकिएको थियो । तर, फेरि अस्थायी रुट परमिट दिएर सवारी चलाउन थालिएको छ । काभ्रेकै दुर्घटना भएको सडकमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको समितिले अस्थायी रुट परमिट दिएको छ । दुई साताअघि काभ्रेका तत्कालीन सिडिओ बालकृष्ण पन्थीले रुट परमिट दिएका हुन् ।

पन्थी हाल गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख छन् । उक्त सडकखण्डमा फेरि क्षमताभन्दा दोब्बर यात्रु लिएर बस सञ्चालन हुन थालेको छ । अन्य जिल्लामा पनि अवस्था त्यस्तै छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनु्सार नेपालमा हरेक दिन पाँचदेखि ६ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । गत वर्ष नेपालमा दुई हजार ६ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए भने चार हजार एक सय ८२ गम्भीर घाइते भएका थिए ।

८१ हजार किमि सडकमा ३० हजार किमि मात्रै योग्य
१. सडकको अवस्था
नेपालमा ग्रामीण र रणनीतिक तथा कालोपत्रे–कच्ची सडकको कुल लम्बाइ ८१ हजार तीन सय आठ किलोमिटर पुगेको छ । उक्त सडकमध्ये ३० हजार किलोमिटर यातायात सञ्चालन गर्न योग्य छ । यसमध्ये १७ हजार किलोमिटरमा मात्र १२ महिना यातायात सञ्चालन गर्न सकिने अवस्थामा छ । तर, व्यावहारिक भने प्राविधिक रूपमा कुनै पनि सडकको ट्र्याक खोल्नेबित्तिकै सवारी सञ्चालन गर्ने गरिएको छ ।
२. सवारी साधनको अवस्था
०५६ मा मन्त्रिपरिषद् बैठकले उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गर्न नपाउने व्यवस्था गरेको थियो । सामान्यतः २० वर्षसम्म सवारी सञ्चालन गरेपछि लगानी उठी नाफासमेत हुने भएकाले अनिवार्य पत्रु गर्नुपर्ने व्यवस्था गरिएको हो । तर, व्यवसायीले तोकिएको अवधि नाघेका सवारीसाधन पत्रु गर्ने गरेका छैनन् ।
३. सवारी चालकको अनुभव
नेपालमा अझैसम्म व्यावसायिक र गैरव्यावसायिक भनेर चालकलाई वर्गीकरण गरिएको छैन । निश्चित मापदण्ड नहुँदा जसले पनि सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् । व्यावसायिक रूपमा सवारी नचलाउनेमा अनुभवको कमी हुने ट्राफिक इन्जिनियरहरूको भनाइ छ । कतिपय यात्रुबाहक सवारीमा कम उमेरका व्यक्तिले चलाउने र तिनीहरूमा दक्षता नहुँदा दुर्घटना हुने गरेका छन ।
४. यात्रुको ढिपी
यात्रुको ढिपीका कारण पनि सडक दुर्घटना हुने गरेको ट्राफिक इन्जिनियरहरूको भनाइ छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो सवारी हाँक्न लगाउनेलगायतका व्यवहारले पनि दुर्घटनालाई निम्त्याइरहेको प्रहरीहरूको भनाइ छ ।  प्राविधिक रूपमा सक्षम नरहेका सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा सवारीसाधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Loading...