भारतसँगको सम्बन्ध न्यानो भएको छ : प्रवक्ता भुसाल

काठमाडौँ, १२ असोज – नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणले चिसिएको सम्बन्ध न्यानो भएको बताएकी छन् ।

प्रेस सेन्टर नेपाल, सञ्चार राष्ट्रिय प्रतिष्ठानको प्रथम अधिवेशनमा उनले मुलुकको पुनःनिर्माणका लागि थप सहयोग लिने र हुलाकी मार्ग निर्माणको काम अघि बढाउने विषय बाहेक कुनै विवादास्पद निर्णय नभएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा वर्तमान सरकारका कार्यशैलीप्रति केही राजनीतिक दलबाट अमर्यादित र गैरराजनीतिक टिप्पणी आइरहेकामा उनले चिन्ता पनि व्यक्त गरिन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गरिनुपर्नेमा जोड दिए ।

सेन्टरका बलराम थापा र राजु लामाले सङ्गठनलाई गतिशील बनाउन सुझाव दिँदै सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमसँग समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने बताए ।

उक्त अधिवेशनले रेडियो नेपालका पत्रकार सुमिता लामालाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।