दसैँ नजिकिएसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ, १३ असोज – दसैँ सुरु हुन केही दिन बाँकी रहँदा घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका छन् ।

महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले मङ्गलबार मात्र ७२ हजार २१४ जना बाहिरिएको बताए । उनले भने , “अरु समयमा ६० देखि ६५ हजारको हाराहारीमा बाहिरिने गरेकामा केही दिनदेखि बढेको छ ।”

घर जाने यात्रु नठगिउन् भन्ने उद्देश्यले यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाको टोली दिनहुँ अनुगमनमा जाने गरेको मल्लले बताए । महाशाखाले यात्रुलाई सहज गन्तव्यस्थलसम्म पु-याउनका लागि यातायात व्यवसायीसँग आग्रह गरेको छ ।

महाशाखाले यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १२ स्थानमा नागरिक सहायता कक्षसमेत सञ्चालन गरेको छ ।