पर्सा, १३ असोज – गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष उद्योगपति डा उपेन्द्र महतोले प्रत्येक नेपाली स्वरोजगार नभएसम्म राष्ट्र समृद्ध हुन नसक्ने बताएका छन् ।

उनले मुलुकमा विद्यमान लामो राजनीतिक सङ्क्रमकालको अन्त्यका लागि जनता समृद्ध हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

पतञ्जली योगपीठ, पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै डा महतोले राजनीतिक स्थिरतालाई समाप्त पार्दै मुलुकलाई समृद्ध बनाउन उद्योगपति, व्यापारी, राजनीतिक दल तथा नागरिक समाज सबैले आ–आप्mनो दायित्व निर्वाह गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा महतोले बाराको प्रसौनीमा स्थापना गरिएको पतञ्जली आयुर्वेद उद्योग प्रालिबाट भएको आम्दानी स्वास्थ्य, शिक्षा र कृषि विकासमा खर्च गरिने जानकारी दिँदै पतञ्जलीले अपनाएको पद्धतिलाई अन्य औद्योगिक घरानाले समेत अनुसरण गर्ने विश्वास व्यक्त गरे ।

उद्योगपति डा महतोले रु एक सय ५० करोडको लागतमा स्थापना गरिएको आयुर्वेद उद्योगको आगामी मङ्सिर ९ गते उद्घाटन हुने जानकारी दिए । उनले मङ्सिर ९ देखि १३ गतेसम्म वीरगन्जको आदर्शनगर रङ्गशालामा हुने निःशुल्क योगविज्ञान शिविरमा सहभागी हुन आउने क्रममा योगगुरु बाबा रामदेव, आर्युवेदज्ञाता आचार्य बालकृष्ण र राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको बताए ।

नेपालमा पहिलोपटक पतञ्जलीले स्थापना गरेको उक्त उद्योगले हाल ५० प्रकारका आयुर्वेदिक वस्तु उत्पादन गर्दै आएको डा महतोले जानकारी दिए । उनले हाल रु ५० करोडको वार्षिक कारोबार हुँदै आएपनि आउने पाँच वर्षभित्र पाँच सय करोडको कारोबार हुने विश्वास रहेको दाबी गरे ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);