kumai_1348220592काठमाडौं, असोज १३ – चाबहिलमा कुमारी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र न्युरोडमा बज्रयोगिनी ऋण सहकारी संस्था चलाउँदै आइरहेका सूर्यध्वज न्यौपानेका कारण सर्वसाधारणको करोडौं निक्षेप जोखिममा परेको छ । न्यौपानेले विधि र प्रक्रियाभन्दा पनि मनोपोलीका आधारमा काम गर्दा सर्वसाधारणको करोडौं रकम जोखिममा परेको हो ।

सहकारी अध्यक्ष न्यौपानेले सहकारी नियम र विधि मिचेर कुमारीको अध्यक्ष र बज्रयोगिनीको सल्लाहकार बन्दै मनलाग्दी गर्दै सर्वसाधारणको निक्षेपमाथि रजाइँ गरे पनि सरोकारवाला निकायले यसतर्फ अझै ध्यान दिन सकेका छैनन् । सहकारीका नाममा करोडौं ठगी धन्दा गर्ने सुधिर बस्नेत काण्ड सेलाउन नपाउँदै त्यस्तै मनोपोली सतहमा आएपछि कतिपयले यसलाई त्यसकै पुनरावृत्तिको प्रारम्भिक संकेतका रुपमा बुझेका छन् ।

न्यौपानेले संस्थामा जम्मा भएका सर्वसाधारण जनताको निक्षेप नियम मिचेर आफ्नै पकेटको रकम झैं दुरुपयोग गरेको भन्दै संस्थाका कर्मचारीहरुले चिन्ता व्यक्त गरे पनि न्यौपानेले यसको पूर्ण वेवास्ता गर्दै संस्थाको निक्षेप दुरुपयोग गरी विभिन्न निजी व्यवसायमा लगानी गरेका छन् । दरबारमार्गमा रहेको इन्टाएर ट्राभल्स एण्ड टुर्स एजेन्सीमा दुई करोड पचास लाख रुपैयाँ लगानी गरी संचालन गर्दै आएका छन् । यो ट्राभल्स अफिस विगत ५–६ वर्षदेखि घाटामा गइरहे पनि उनले यसलाई माथि उठाउने कुनै नीति लिएका छैनन् । बरु उल्टै उनले यसबाट व्यक्तिगत लाभ लिइरहेको स्रोत बताउँछ । घाटामा रहेको यो ट्राभल्स कम्पनीको सम्पूर्ण लगानी कुमारी सेभिङ र बज्रयोगीनी ऋण सहकारी संस्थाको रहेको कुमारी सेभिङका एक कर्मचारीले बताए । उक्त कम्पनी निरन्तरको घाटाले टाट पल्टने अवस्थामा पुगे पनि उनले सहकारीको पैसा लगेर खन्याइरहेका छन् ।

उदेक लाग्दो कुरा के छ भने न्यौपानेले न्युरोडस्थित बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्थामा श्रीमती सुनिता कार्कीलाई कार्यकारी अध्यक्ष बनाएका छन् भने आफू सल्लाहकार बसी मासिक विभिन्न शीर्षकमा लाखौं रुपैयाँ सुविधा लिएको पाइएको छ ।

आफू नजिकका व्यक्तिहरुमा नाममा सामूहिक जमानीमा कर्जा लगानी समेत गरेको पाइएको छ । बज्रयोगिनीबाट उनले ३ करोड ५० लाखभन्दा बढी जनताको निक्षेप अपचलन गरी संस्थालाई धराशायी बनाएका हुन् । सुप्रिम डेभलपमेन्ट बैंकमा संस्थाको निक्षेप अनियमित ढंगले निकाली सूर्यध्वज न्यौपानेको नाममा एक करोडको संस्थापक सेयर खरिद गरी राखेको तर हाल उक्त रकमको सावा व्याज संस्थालाई नतिरेको देखिएको छ ।

चितवनको पदमपुर गाविस, काठमाडौंको नयाँपाटीलगायत विभिन्न ठाउँमा १० करोड भन्दा बढीको जग्गा न्यौपानेले खरिद गरेका छन् । उनले उक्त जग्गा आफू र आफ्नो नातेदार कर्मचारीको नाममा खरिद गरे पनि अझै सम्म संस्थाको रकम फिर्ता गरेका छैनन् । संस्थाका पुराना कर्मचारीले यस्तो थाहा पाएपछि विरोध गर्ने गरे पनि उनले उल्टै धम्क्याउने गरेका छन् ।

आफू अनुकूल सञ्चालक समिति गठन गरी संस्था सञ्चालन गरे पनि जनताको करोडौं रुपैयाँ निक्षेप रहेको संस्थामा हालसम्म कुनै सरकारी निकायको ध्यान पुगेको छैन । कर कार्यालयले समेत हालसम्म पूर्ण लेखापरीक्षण नगरेको पाइएको छ ।

संस्थाको भवन बनाउँदा अझै ब्रह्मलुट नै भएको पाइएको छ । जनताको माझ विश्वास सिर्जना गर्नेै उद्देश्यले संस्थाको नाममा जग्गा निर्माण खर्च र कार्यालय सजावट जस्ता कार्यमा १८ करोड रुपैयाँ खर्च गरिएको छ । न्यौपानेले संस्थाको भवन निर्माण गर्ने बाहनामा करोडौं रुपैयाँ झ्वाम पारे पनि कसैले चासो नलिँदा कैयौं सर्वसाधारण चिन्तित बन्न पुगेका छन् ।

न्यौपानेसँग यसबारे जानकारी लिन पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

} else {