थप सैनिक पठाउन इराकद्वारा अमेरिकालाई आग्रह

बग्दाद , १३ असोज । आफ्नो मुलुकमा थप अमेरिकी सैनिक प्रशिक्षक र सल्लाहकार पठाई सहयोग गर्नका लागि इराकले वासिङटनलाई आग्रह गरेको छ । usa
हाल इस्लामिक स्टेट आतङ्कबादी समूहको कब्जामा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गर्नका लागि सहयोगको आग्रह गरिएको प्रधानमन्त्री कार्यालयले बुधबार जानकारी दिएको छ ।
मोसुललाई मुक्त गराई पूर्णतः सरकारी अधिनमा ल्याउन इराकी सुरक्षा बललाई सामरिक सल्लाह, सुझाव र तालिमका लागि पर्याप्त कुशल र दक्ष सैनिकको आवश्यकता परेको बताइएको छ ।
त्यसकारण अमेरिकी सैनिक संख्यामा वृद्धि गर्न अन्तिम पटक सहयोग माग गरिएको प्रधानमन्त्री हैदर अल अबादीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ । रासस ÷एएफपी