देउवाले पार्टी कार्यालयमै बसेर गुनासो सुन्ने


देउवाले पार्टी कार्यालयमै बसेर गुनासो सुन्ने

‘सभापतिमा निर्वाचित भएदेखि नै केन्द्रीय कार्यालय भेटघाटका लागि तालिका बनाउन खोजेका थियौँ, तर पार्टीकै आन्तरिक चुनावले गर्दा सम्भव भएन,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ पत्रिकासँग भने, ‘बिहीबारबाट सभापति केन्द्रीय कार्यालय आउन थाल्नुभयो । अब साताको कम्तीमा चार दिन कार्यालय आउने तालिका बनाउँदै छौँ ।’

१३औँ महाधिवेशनका लागि उनले बानेश्वरमा सम्पर्क कार्यालय खोलेका थिए । निवास टाढा भएकाले देउवालाई केन्द्रीय कार्यालयमा भेटघाट गर्ने व्यवस्था मिलाउन नेता कार्यकर्ताले सुझाब दिँदै आएका थिए ।

du

पहिलो दिन साढे तीन घन्टा
सभापतिमा निर्वाचित भएको ६ महिनापछि देउवाले पहिलो दिन बिहीबार बिहान नौदेखि साढे १२ बजेसम्म कार्यालयमा बिताएका थिए । साढे तीन घन्टा कार्यालयमा बस्दा देउवाले नेता–कार्यकर्तासँग सामूहिक र व्यक्तिगत भेटघाट गरे । सभापति पुगेकै दिन केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र लक्ष्मी परियार पनि कार्यालय पुगेका थिए । शुक्रबार पनि देउवा कार्यालय जानेछन् । ‘अब छिटै सभापतिज्यूको समयतालिका बनाउँछौँ,’ मुख्यसचिव पौडेल भन्छन्, ‘पार्टीका समस्या, सरकारमा सामेल मन्त्रीको कार्यशैली, संगठनका विभिन्न गुनासा अब सभापतिसँग कार्यालयमा राख्ने व्यवस्था मिलाएका छौँ ।’

सभापतिमा निर्वाचित भएलगत्तै देउवाका लागि वास्तुशास्त्रअनुसार पहिलेको कार्यालयभन्दा अलग्गै तीनवटा कोठा फोरेर व्यवस्थित र सुविधासम्पन्न कार्यकक्ष बनाइएको थियो । त्यही कार्यकक्षमा सभापतिले भेटघाट गर्ने भएका छन् ।

पहिलेको घोषणा अलपत्र
सभापति नहुँदै पनि देउवाले नियमित केन्द्रीय कार्यालय पुगेर नेता–कार्यकर्ताको गुनासो सुन्ने घोषणा गरेका थिए । तर, त्यसलाई निरन्तरता दिन सकेनन् । ‘पहिले पनि घोषणा भएको हो, तर पार्टीकै कामले निरन्तरता दिन सकिएन,’ पौडेलले भने, ‘यसपटक सभापति ‘धेरै सिन्सियर’ हुुनुहुन्छ । निरन्तरता दिनुहुन्छ ।’

मन्त्रीलाई भेट्ने तालिका बन्दै
सुशील कोइराला प्रधानमन्त्री हुँदा केन्द्रीय कार्यालयले कांग्रेसका सबै मन्त्रीसँग भेटघाट गर्ने तालिका बनाएको थियो । तर, त्यो धेरै समय टिकेन । यसपटक माओवादी केन्द्र नेतृत्वमा सहभागी कांग्रेसका १५ मन्त्रीका लागि फेरि भेटघाटको समयतालिका बनाइन लागेको मुख्य सचिव पौडेल बताउँछन् । मन्त्रीलाई भेट्न बिहानैदेखि मन्त्री क्वार्टर पुल्चोक र घरमा बस्ने मन्त्रीलाई भेट्न उनीहरूका सम्बन्धित घर र मन्त्रालय रहेको सिंहदरबारमा बाक्लो भीड लाग्ने गरेको छ ।

व्यवस्थित बन्दै कार्यालय
विगतमा पार्टी गतिविधिसमेत प्रभावकारी रूपमा राख्न नसकेको कांग्रेस केन्द्रीय कार्यालयले अबदेखि सबै विषयलाई व्यवस्थित बनाउने भएको छ । पार्टीको जिल्ला कार्यालयसहितका सम्पत्ति, पार्टीका गतिविधिलाई वेबसाइटमा राख्ने, आगन्तुक भेटघाटलाई सुरक्षित र सहज बनाउनेसहितका सुधारका कार्यक्रम केन्द्रीय कार्यालयले थालिसकेको छ । यसअघि कार्यालयमा कार्यरत कर्मचारीलाई छुट्टै ड्रेस नभए पनि देउवा सभापति भएदेखि उनीहरूलाई ड्रेसको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा २४ जना कर्मचारी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।