लाखौँको जुवा, दुई सय जरिवाना

कानुनमै थोरै सजाय
अदालतले जुवाडेलाई थोरै जरिवाना गरेको होइन, कानुनअनुसार त्यो नै अधिकतम सजाय हो । जुवा ऐन, २०२० अनुसार जुवा खेल्ने तथा खेलाउनेलाई अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कैद सजायको प्रावधान नै छैन । ५३ वर्षअघिको उक्त कानुन अहिलेसम्म समयानुकूल संशोधन नहुँदा जुवा खेलाउने र खेल्ने सजिलै छुट्ने गरेका छन् । जसका कारण राजधानीमा अवैध जुवाघरहरू मौलाएका छन् ।

जुवाडेलाई प्रहरीको पनि ‘माया’
जुवा ऐनअनुसार अभियुक्तलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । तर, उपत्यकाका प्रहरीको तथ्यांक हेर्दा उनीहरू एक साताभन्दा धेरै हिरासतमा बस्नुपर्दैन । प्रहरीलाई समेत प्रभावमा पारी उनीहरू केही दिनमै छुट्ने गरेका छन् । गत ३० साउनमा सूर्यविनायकमा पक्राउ परेका १६ जना जुवाडे चौथो दिनमै छुटेका थिए । प्रहरीले रातभरि बयान लिएर उनीहरूको मुद्दा छिटै बुझाएको थियो । सोही कारण उनीहरू चार दिन मात्र हिरासतमा बस्नुप-यो ।

आर्थिक प्रभावका आधारमा महानगरीय प्रहरी वृत्त जगातीले उनीहरूको मुद्दा छिटै बुझाएको स्रोत बताउँछ । उनीहरू पेसेवर जुवाडे हुन्, जो पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । तर, जतिपटक पक्राउ परे पनि उनीहरूले जुवा खेल्न छाडेका छैनन्।

बढ्यो जुवातास
दसैँ नजिकिँदै गर्दा राजधानीमा जुवातासको खाल बढेको छ । प्रहरीले हरेक दिन जुवा अखडामा छापा हानी जुवाडेलाई पक्राउ गर्न थालेको छ । बुधबार मात्र प्रहरीले राजधानीका दुई जुवा अखडामा छापा हानी ११ जनालाई पक्राउ गरेको थियो । कालोपुलस्थित विमल थापाको घरमा तास खेलिरहेका बारा निजगढ–७ का प्रेमध्वज लामासहित ६ जना पक्राउ परेका थिए । जुवा खालबाट एक लाख पाँच हजार सात सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौं महानगरपालिका–१६ नयाँ बजारस्थित वीरेन्द्र गुरुङले भाडामा लिएको घरमा जुवातास खेलिरहेका पाँचजना पक्राउ परेका छन् । ३२ हजार र तीन बुक ताससहित उनीहरू पक्राउ परेका हुन् ।

यस्तै, चन्द्रागिरीको किसिपिडी बस्ने सुकुमाया श्रेष्ठकोे होटेलमा जुवातास खेलिरहेका पाँचजना मंगलबार पक्राउ परेका थिए । काठमाडौं महानगरपालिका–३ महाराजगन्जस्थित कोहिनुर रेस्टुरेन्ट गेस्टहाउसको तेस्रो तलामा जुवातास खेलिरहेका सञ्चालक राधा पौडेलसहित १९ जनालाई शनिबार प्रहरीले नगद दुई लाख ४० हजार ६ सय ५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको थियो । घरहरू भाडामा लिएर, होटेल तथा रेस्टुरेन्टहरूमा व्यावसायिक रूपमा जुवा खेलाइने गरेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।