उपत्यकाका सडक विस्तारमा जताततै अवरोध

उपत्यकाका सडक विस्तारमा जताततै अवरोध

त्रिपुरेश्वर–कलंकी–नागढुंगा खण्ड, चाबहिल–जोरपाटी–साँखु खण्ड, जडीबुटी–पेप्सीकोला खण्ड, चुच्चेपाटी–आरुबारी खण्ड, गोपीकृष्ण चोक–सरस्वतीनगर खण्ड, महांकाल चोक–फैका–कपन सडकखण्डको विस्तार र निर्माण अवरोधकै कारण प्रभावित भइरहेको छ । सडक मिचेर निर्माण गरिएका संरचना भत्काउन घरधनीले अटेर गर्ने, अवरोध गर्ने र अदालतबाट ‘स्टे अर्डर’ ल्याएर निर्माण रोक्न दबाब दिने काम भइरहेको छ । यस्ता अवरोधले फराकिलो पार्न भत्काइएका सडक लामो समय भइसक्दा पनि निर्माण हुन सकेका छैनन् ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले दुई स्थानको सडक निर्माण गर्न दुई अर्ब रुपैयाँमा टेन्डर ठेक्का दिएको छ । तर, दुवै स्थानको सडक स्थानीयका कारण अवरुद्ध छ । आयोजनाका अनुसार त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखण्डका तीन ठाउँमा स्थानीयको अवरोध छ । पहिलो अवरोध टेकुस्थित स्वास्थ्य विभागको कार्यालयअगाडि रहेको पीपलबोटनजिक छ । आयोजनाका उपसचिव नवराज सापकोटाका अनुसार सो स्थानमा रहेको एउटा घर भत्काउन घरमालिकले अटेर गर्दै आएका छन् । घरधनीले सर्वोच्च अदालतमा मुद्दा हालेपछि सडक विस्तारकोे काम अवरोध बन्न पुगेको हो ।

उनले भने, ‘टेकुस्थित स्वास्थ्य विभागको सामुन्ने सडक मिचेर एउटा घर निर्माण भएको छ । हामीले त्यो आफैँ भत्काएर सहयोग गर्न सार्वजनिक आह्वान ग-यौँ । असहयोग भएपछि भत्काउन खोज्दा घरधनीले सर्वोच्च अदालतमा मुद्दा हाले । सर्वोच्चले तत्कालै ‘स्टे अर्डर’ जारी गरेपछि हामी आदेश मान्न बाध्य भयौँ । सडक विस्तार र निर्माण कार्य रोकियो ।’

सोही सडकको कालिमाटी खण्डमा अर्को अवरोध छ । विष्णुमति पुलदेखि कालिमाटी चोकसम्म सडक मिचेर घर निर्माण गरिएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणको सहयोगमा सडक विभाग घर भत्काउन कालिमाटी पुग्यो । तर, घरधनीले घर छुन पनि दिएनन् ।

उपसचिव सापकोटाले भने, ‘कालिमाटीमा सडक मिचेर घर निर्माण गरिएको पाइएपछि भत्काउन टोली खटियो । तर, घरधनीले छिर्न पनि दिएनन् । विशेषगरी सटर भाडामा लिएर व्यापार गर्ने व्यापारी एकजुट भए । घर भत्काउन पुगेको टोलीलाई उनीहरूले रोके ।’

अर्को अवरोध कलंकी चोक र नागढुंगाबीच रहेको ढुंगेअड्डामा छ । सडक मिचेर घर निर्माण गरेका ४७ घरधनीले सर्वोच्च अदालतमा सडक विस्तार रोक्न मुद्दा हालेपछि सो सडकखण्डको विस्तार र निर्माण पनि अवरुद्ध छ । उपसचिव सापकोटाले सर्वोच्च अदालतको ‘स्टे अर्डर’का कारणले कलंकी चोक र नागढुंगा सडक निर्माण पनि रोकिएको बताए ।

चाबहिल–जोरपाटी–साँखुमा अवरोध
सवारीसाधनको अत्यधिक चाप हुने गरेको चाबहिल–जोरपाटी–साँखु सडकखण्डमा पनि उस्तै समस्या छ । स्थानीयकै कारण निर्माण कार्य प्रभावित बनेको छ । आयोजनाले दिएको जानकारीअनुसार चाबहिलदेखि नारायणटारस्थित अर्थोपेडिक अस्पतालनजिकको पुलसम्म सडक मिचेर घर निर्माण गरिएका छन् । सडक मिचेर बनाइएका संरचना भत्काउने उद्देश्यले नापी गर्न खोज्न नै स्थानीयले विरोध गरे । सोही कारण नौ महिनादेखि सडक निर्माणको सम्पूर्ण काम रोकिएको छ ।

सोही सडकखण्डको डाँचीमा पनि सडक मिचेर घर निर्माण गरिएका छन् । तर, भत्काउन खोज्दा स्थानीयले सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ ल्याएर विस्तार कार्य रोकेका छन् । दुवै स्थानको सडक निर्माण सम्पन्न गर्ने अवधि ३० महिनाको भए पनि लगातार अवरोध हुँदा तोकिएको समयमा काम नसकिने सम्भावना बढेको छ ।

जडीबुटी–पेप्सीकोलामा अवरोध
विस्तारकै क्रममा रहेको जडीबुटी–पेप्सीकोला सडकखण्डको निर्माण कार्य पनि अवरोध छ । सडक विभागका प्रवक्ता उमाकान्त झाका अनुसार ढल राख्ने विषयमा मतान्तर हुँदा स्थानीयले अवरोध गरेका छन् । स्थानीयको अवरोधका बीच सडक विभागले काम अघि बढाउन खोज्दा यहाँ पनि अदालतको ‘स्टे अर्डर’ बाधक बनेको छ । प्रवक्ता झाले भने, ‘पाइप राख्ने विषयमा स्थानीयले अवरोध गरेका थिए । हामीले काम जारी राख्यौँ । तर, सर्वोच्च अदालतमा रिट हालेर स्थानीयले ‘स्टे अर्डर’ ल्याए । त्यसैले काम रोकिएको छ ।’

मेलम्ची खानेपानीका कारण पनि रोकियो निर्माण
स्थानीयको अवरोध र अदालतको आदेशले मात्र होइन, मेलम्ची खानेपानी आयोजनाका कारण पनि सडक निर्माण प्रभावित बनेको छ । आयोजनाले खानेपानीको पाइप बिछ्याउने क्रममा खनेको सडक अलपत्र छाडेपछि सडकको विस्तार कार्य रोकिएको हो ।

डिभिजन सडक कार्यालय काठमाडौंका अनुसार चुच्चेपाटी–आरुबारी खण्ड, गोपीकृष्ण चोक–सरस्वतीनगर खण्ड, महांकाल चोक–फैका–कपन सडकखण्ड मेलम्ची खानेपानी आयोजनाका कारण प्रभावित बनेको छ । डिभिजन कार्यालय प्रमुख धर्मेन्द्रकुमार झाका अनुसार आयोजनाले पाइप बिछ्याउन खनेको सडक चाँडो ह्यान्डओभर नगर्दा निर्माण कार्य प्रभावित बनेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।