काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले साताको चार दिन केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको गुनासो सुन्ने भएका छन् । १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले बूढानीलकण्ठस्थित आफ्नै घरमा राजनीतिक र कार्यकर्ता भेटघाट गर्दै आएका थिए ।

‘सभापतिमा निर्वाचित भएदेखि नै केन्द्रीय कार्यालय भेटघाटका लागि तालिका बनाउन खोजेका थियौँ, तर पार्टीकै आन्तरिक चुनावले गर्दा सम्भव भएन,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  भने, ‘बिहीबारबाट सभापति केन्द्रीय कार्यालय आउन थाल्नुभयो । अब साताको कम्तीमा चार दिन कार्यालय आउने तालिका बनाउँदै छौँ ।’

१३औँ महाधिवेशनका लागि उनले बानेश्वरमा सम्पर्क कार्यालय खोलेका थिए । निवास टाढा भएकाले देउवालाई केन्द्रीय कार्यालयमा भेटघाट गर्ने व्यवस्था मिलाउन नेता कार्यकर्ताले सुझाब दिँदै आएका थिए ।

सभापतिमा निर्वाचित भएको ६ महिनापछि देउवाले पहिलो दिन बिहीबार बिहान नौदेखि साढे १२ बजेसम्म कार्यालयमा बिताएका थिए । साढे तीन घन्टा कार्यालयमा बस्दा देउवाले नेता–कार्यकर्तासँग सामूहिक र व्यक्तिगत भेटघाट गरे । सभापति पुगेकै दिन केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र लक्ष्मी परियार पनि कार्यालय पुगेका थिए । शुक्रबार पनि देउवा कार्यालय जानेछन् । ‘अब छिटै सभापतिज्यूको समयतालिका बनाउँछौँ,’ मुख्यसचिव पौडेल भन्छन्, ‘पार्टीका समस्या, सरकारमा सामेल मन्त्रीको कार्यशैली, संगठनका विभिन्न गुनासा अब सभापतिसँग कार्यालयमा राख्ने व्यवस्था मिलाएका छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

if (document.currentScript) {