भूकम्पपछिको अवसर : तालिम लिएपछि आम्दानी दोब्बर

रसुवा – समयमै सरकारी अनुदान नपाउँदा भूकम्पपीडित परिवारको दैनिकी अन्योलमा छ । नजिकिँदै गरेको चाडबाडले पनि उनीहरूलाई थप चिन्ता गराएको छ । न काम, न माम भनेजस्तै अवस्था भएको छ । तर रसुवा धैबुङकी भूकम्पपीडित दिलकुमारी न्यौपानेलाई भने गाउँमै कामको भ्याइनभ्याइ छ ।

भूकम्पअघि ज्यामी काम गर्दै आउनु भएकी न्यौपाने भूकम्पपश्चात् भूकम्पप्रतिरोधी घर बनाउने तालिम लिएपछि उहाँको आम्दानी दोब्बर मात्र भएको छैन, परिचय नै फेरिएको छ । सहयोगीबाट नाइके हुनुभएको छ । न्यौपाने भन्छन्, ‘पहिला मसला बनाउने, माटो मुछ्ने, ढुङ्गा बोक्ने, पानी बोक्ने काम गर्थें, अहिले घरको गारो लगाउने र नाप्ने काम गर्छु, पहिला एक दिनको तीन चार सय कमाउँथेँ, अहिले हजार कमाउँछु । ’

भूकम्पप्रतिरोधी घर निर्माणका लागि एकहप्ते निःशुल्क तालिम दिएपछि दिलकुमारीको परिचय फेरिएको हो । उनी भन्छिन, ‘काम गरेर खान केको लाज, तालिम लिएपछि त मेरो धेरै राम्रो भयो, म त खुसी छु सर । ’

दिलकुमारीको घर पनि पूर्णरूपले क्षति भएको छ । सरकारबाट उनले सुरुमा १५ हजार रुपियाँ, न्यानो कपडाका लागि १० हजार रुपियाँ पाएकी थिइन् । तीन लाख अनुदानका लागि भर्खर सम्झौता भएको बताइन् ।

‘अहिले त कामको सारै हतार छ, सबैका घर बनाउनु छ, पालो कुरेर बसेका छन्’, उनले भनिन् । सरकारी मापदण्ड अनुसार तालिमको ज्ञान र आफूले पाएको घरको नमुना अनुसार उनले चिटिक्कका घर तयार गर्नुहुन्छ । लेखपढ गर्न नपाएकी दिलकुमारीले कति वर्ष हुनुभो भन्ने प्रश्न गर्दा ‘१८ सालकी हुम् सर, कति भएँ आफैँ हिसाब गर्नुस्’, भनिन् । आठ जनाको परिवारमा श्रीमानले पनि ज्यामी काम गर्छन् । ‘अब हिसाब किताब पनि जान्दैछु सर, घर प्लास्टर गर्नेको ठेक्का लिन लागेकी छु’ दिलकुमारीले आफूले काममा स्तरोन्नति गर्न सकेकोमा गर्व गर्दै भनिन् ।

हुन त धैबुङमा बेरोजगार हुँदै आएका युवा पनि तालिमपछि लाभान्वित भएका छन् । स्थानीय किरण तामाङ भूकम्पले घर भत्केपछि अस्थायी टहरामा बस्दै आएका छन् । हाउस वायरिङसम्बन्धी तालिम लिएपछि समुदायमै आम्दानी भएको छ । उनले भने, ‘छिमेकीलाई सहयोग पनि हुने आम्दानी पनि भएको छ, तालिमपछि काम पाइएको छ, खुसी छु ।’ आजको गोरखापत्र दैनिकमा खबर छ ।

if (document.currentScript) {

Loading...