‘सत्ता टिकाउन प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गरे’

२५ बुँदे सम्झौतामा हस्ताक्षर गरेको दिन मलाई रातभर निन्द्रै लागेन

भक्तपुर, असोज १५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधामन्त्री डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको बताएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद भक्तपुरले शनिबार गरेको दसैँ तथा तिहारको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले भारतसँग गरेको २५ बुँदे सम्झौता देशको हित विपरित रहेको आरोप लगाए । brb
उनले प्रधानमन्त्रीले भारतसँग गरेको सम्झौताले आफूलाई पोलिरहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले २५ बुँदे सम्झौतामा सहमति गरी हस्ताक्षर गरेको दिन मलाई रातभर निन्द्रै लागेन, यो राष्ट्रघाती सम्झौताले पोलिरहेको छ ।’
नेपालका राजनीतिक दलले आफ्नो सत्ता र कुर्सी टिकाउन यस्ता राष्ट्रघाती सम्झौता गरिरहे देश गम्भीर कुचक्रमा फस्ने भन्दै उनले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ भने ।
देशलाई विकास र सम्वृद्धि तर्फ बढाउन देशमा स्थायी सरकारको आवश्यकता रहेको भन्दै उनले स्थायी सरकारमा विदेशीले पनि चलखेल गर्न नसक्ने बताए ।
डा.भट्टराईले सम्झौता भएका बुँदाहरु मध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रिय हित विपरित भएको जिकिर गरे ।