गोरखा, असोज १६ – दसैँको मुखमा गोर्खाका उत्तरी भेगका विभिन्न १४ गाविसमा खाद्यान्नको अभाव सृजना भएको छ । सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानको डिपोमा चार हजार क्विन्टल खाद्यान्न मौजाद रहेको अवस्थामा पनि जिल्लाका उत्तरी दुर्गम गाविसका डिपोहरुमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी नभएको हो ।

12540594_1048357745210044_1825503542550808219_n
खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाका काशीगाउँ, केरौँजा, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत, छेकम्पार, उहिया, गुम्दा र लाप्राकलगायत १४ गाविसमा खाद्यान्नको अभाव भएको छ ।
दुर्गम भेगका जनताले सहुलियत दरमा चामल उपभोग गर्न पाउन् भन्दै सरकारले गुम्दाको माछाखोला र सिर्दिवासको फिलिममा खाद्य संस्थानको डिपो सञ्चालन गर्दै आएको छ । तर दसैँको मुखमा आएर डिपोमा खाद्यान्न अभाव भएको हो ।
एक महिनादेखि डिपो रित्तो हुँदा खाद्यान्न लिन आएका स्थानीय खाली हात घर फर्कन बाध्य भएका छन् । स्थानीय बजारमा ३० केजी चामलको मुल्य तीन हजार ४ सय पर्ने भएपछि उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीमा समस्यामा देखा परेका छ । संस्थानले माछाखोला डिपोमा दुई हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि जम्मा ८ सय ४२ क्विन्टल मात्र खाद्यान्न ढुवानी गरेको थियो त्यस्तै फिलिममा तीन हजार क्विन्टल ढुवानी गर्नुपर्नेमा नौ सय क्विन्टल चामल मात्रै ढुवानी भएको गोर्खा खाद्य संस्थानका प्रमुख टेकप्रसाद रेग्मीले जानकारी दिए ।
सदरमुकामको गोदाममा एक वर्षदेखि चार हजार २२ क्विन्टल खाद्यान्न थन्कीए पनि डिपोमा ढुवानी हुन सकेको छैन् । दुर्गममा चामलको ढुवानी गर्न गङ्गाजमुना निर्माण सेवाले ठेक्का पाएको भएपनि बाटो भत्कीएका कारण देखाउदै खाद्यान्न ढुवानी गरेको छैन । खाद्यान्न ढुवानी नगरेपछि संस्थानले गङ्गाजमुना निर्माण सेवाबाट रु तीन लाख धरौटी जफत गरिसकेको छ । भूकम्पपछि अवरुद्ध मनास्लु पदमार्गमा नियमित रुपमा खच्चड सञ्चालन गर्न नसक्दा खाद्यान्न ढुवानी गर्न नसकिएको संस्थानको कार्यालय गोरखाले जनाएको छ । उत्तरी भेगमा सडकको पहुँच नभएका कारण हेलिकाप्टरबाट ढुवानी गरेर भए पनि चामलको अभाव भएका क्षेत्रमा वितरण गर्नेबारे छलफल भइरहेको गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए — राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गरेर भएपनि डिपोसम्म चामल ढुवानी गर्ने तयारी भइरहेको प्रजिअ भट्टको भनाई छ ।