पाकिस्तानमा ५.५ रेक्टर स्केलको भूकम्प

पाकिस्तान, असोज १५ । पाकिस्तानमा शनिबार मध्याह्न शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ५.५ रिक्टर स्केलको मापन गरिएको पाकिस्तान भूकम्प निरूपण केन्द्रले जनाएको छ ।
यस भूकम्पका कारण मानवीय र सपत्ति क्षतिको कुनै समाचार तत्काल प्राप्त भएको छैन ।
यस भूकम्पको केन्द्रविन्दु खैबर पाख्तुनख्वा प्रान्तको मन्सुहरा जिल्लाबाट ७५ किलोमिटर उत्तरपूर्वमा अवस्थित पतान क्षेत्रको आसपासमा नै १२ किलोमिटर गहिराइमा रहेको भूकम्प निरूपण केन्द्रले जानकारी दिएको छ ।
स्थानीय समाचारअनुसार शनिबार मध्याह्न करिब १ बजे गएको यस शक्तिशाली भूकम्पको कम्पन पाकिस्तानको राजधानी इस्लामावाद र पेसावरसहित उत्तरपूर्वी क्षेत्रहरू अबोत्तावाद, स्वात, गिल्जित र मन्सेहरा र पाकिस्तान प्रशासित कास्मिरका केही भागहरूमा पनि महसुस गरिएको थियो । pak
यसअघि गतवर्ष अक्टोबर २६ तारिखमा गएको ७.५ रिक्टर स्केलको भूकम्प परी कम्तीमा २८० जनाको मृत्यु भएको थियो ।
यसमा परी एक हजार ९०० जना घाइते हुनाका साथै एक लाखभन्दा बढी आवासीय भवन र करिब १५ सय विद्यालयहरू नष्ट भएका थिए ।
पाकिस्तानमा सन् २००५ को अक्टोबरमा गएको ७.४ रिक्टर स्केलको भूकम्पमा परी ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पका कारण लाखौँ व्यक्ति घरबारविहीन भएका थिए । रासस÷सिन्ह्वा