‘भाग्यले बाँचेकाहरु’ ले पायो अर्को अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, असोज १७। नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले फेरि अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।bhagya
भारतको पर्यटकीयस्थल सिम्लामा आइतबार राति सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरुले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको हो । यो विधामा अमेरिका, रसिया, इरान, जापान, अर्जेन्टिना, साइप्रस, क्यानडासहित १४ वटा देशका डकुमेन्ट्री फिल्म प्रतिस्पर्धामा थिए । भाग्यले बाँचेकाहरुले यसअघि नै करिब एकदर्जन अवार्ड जितिसकेको छ ।
आइतबार नै फिनल्याण्डको भासा शहरमा भएको अन्तर्राष्ट्रिय नेचर फिल्म फेस्टिबलमा पनि ‘भाग्यले बाँचेकाहरु’ अवार्डका लागि मनोनयनमा परेको छ । bhagya2
यसैगरी, आइतबार लमजुङ सेवा समिति हङकङको आयोजनामा हङकङमा ‘भाग्यले बाँचेकाहरु’को विशेष प्रदर्शनी गरिएको थियो । कार्यक्रममा भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरे आफै उपस्थित थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन) का केन्द्रीय सल्लाहकार त्रिलोक गुरुङले नेपालप्रति सहानुभूति जुटाउन र पुनर्निमाणका लागि भाग्यले बाँचेकाहरुले मद्दत गरेको बताए । ‘भाग्यले बाँचेकाहरु’ हेरेपछि हङकङबासी नेपाली भाबुक बनेका थिए ।
हङकङस्थित चाइनीज विश्वविद्यालयकी प्रोफेसर सो कोक वाइ वीनीले ‘भाग्यले बाँचेकाहरु’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरिन् । हङकङस्थित युनलोङ टाउन हलमा आयोजित विशेष प्रदर्शनीबाट संकलित रकम लमजुङ सदरमुकाम बेसीशहरमा निर्माणाधिन स्टेडियमका लागि सहयोग गर्ने लमजुङ सेवा समितिका सचिव सुरेन्दमान घलेले बताए । bhagya3
कार्यक्रममा ‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेले स्वदेश तथा विदेशमा निरन्तर अवार्ड जितिरहँदा आफूहरु निकै उत्साहित भएको बताए । ‘भाग्यले बाँचेकाहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाली फिल्मको शान बढाउने काम गरेको छ । यसले नेपालको समेत प्रबर्धन गर्ने मेरो विश्वास छ ।’– निर्देशक पाण्डेले बताए । उनका अनुसार, करिब ६५ वटा फिल्म महोत्सवमा भाग्यले बाँचेकाहरु प्रदर्शनीका लागि छनौट भएको छ भने विभिन्न देशमा नेपाली समुदायले प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
साइन मिडिया प्रालिले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाङ्कन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । बृत्तचित्रको सम्राट मुभीजले पोष्टप्रोडक्सन गरेको हो ।