किसानले पाउँछन् कौडीको भाउ, उपभोक्ताले तिर्छन् सुनको भाउ, बिचौलिया भने मालामाल

किसानले पाउँछन् कौडीको भाउ, उपभोक्ताले तिर्छन् सुनको भाउ, बिचौलिया भने मालामाल

किसान
हजारौँ लगानी गरेर, महिनौँ पसिना बगाएर तथा खडेरी र वर्षाबाट जोगाएर उत्पादन गरेको तरकारीको मूल्य किसान आफैँले तोक्न पाउँदैनन् । तरकारी बोकेर संकलन केन्द्रमा पुगेपछि मात्र किसानले आफ्नो उत्पादनको मूल्य थाहा पाउँछन् । चित्त नबुझे के गर्ने ? बारीमा कुहिने चिन्ताले किसान लागत मूल्यमा समेत घटेर पनि तरकारी जिम्मा लगाउन बाध्य हुन्छन् ।

संकलन केन्द्र
गाउँनजिकको राजमार्गको छेउमा ढक र तराजु लिएर बस्ने संकलन केन्द्रका व्यापारीले किसान र ठूला व्यापारीको बीचमा क्षणिक मध्यस्थता गर्छन् । तर, सबैभन्दा बढी नाफा उनीहरू कमाउँछन् । किसानले महिनौँ लगाएर उत्पादन गरेको तरकारी केही क्षण जम्मा गरेबापत २० प्रतिशतसम्म नाफा राखेर मुख्य सहरका ठूला थोक बजारमा पठाउँछन् ।

ठूला थोक विक्रेता
ठूला थोक व्यापारीले नाफा-घाटा हेरेर तरकारी मौज्दात राख्दै बजारमा पठाउँछन् । १० प्रतिशतसम्म नाफा राख्ने मात्र होइन, बजार मूल्यसमेत उनीहरूले नियन्त्रण गर्न सक्छन् । तर, ठूला थोकबाट काठमाडौंको बालाजु, लगनखेल, नख्खु, टुकुचाजस्ता सहकारी, समिति वा संगठित व्यवसायीले सञ्चालन गरेको बजारसम्म तरकारी ढुवानी हुने गरेको छ ।

थोक बजार
उपभोक्ता आफैँ थोक बजार गएर पनि तरकारी खरिद गर्न सक्छन् । तर, यस्तो ठाउँ निश्चित भएकाले सबै उपभोक्ता त्यहाँ पुग्न सक्दैनन् । अझ कालिमाटीजस्ता बजारमा त एक ढकभन्दा कम तरकारी किन्न पाइँदैन । त्यसले पनि उपभोक्ता मूल्य बढाउँछ । उपभोक्ताको पनि पहुँच हुने भएकाले थोक बजारबाट औसतमा पाँच प्रतिशत नाफा राखेर खुद्रामा तरकारी पुग्छ ।

खुद्रा बजार
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक तथा खुद्रा मूल्य निर्धारण गर्छ । तर, तोकिएको खुद्रा मूल्यमा उपभोक्ताले तरकारी पाउँदैनन् । तरकारीका खुद्रा व्यापारी संगठित छैनन् । त्यसैले तिनले आफूखुसी मूल्य तोक्ने गरेका छन् । हाट बजार, ठेलागाडा, किराना पसललगायतले थोक व्यापारीबाट किनेको मूल्य पसलपिच्छे फरक हुन्छ ।

स्थलगत रिपोर्ट : बारीदेखि बजारसम्म

मकवानपुरको टिस्टुङ हुँदै पालुङ जाने सडकछेउमा यो मौसममा बन्दा–काउलीको थुप्रो हुन्छ । पालुङ बजारनजिकको अँधेरीखोला सडकछेउमा किसानले तरकारी थुपार्ने गरेका छन् । संकलन केन्द्रको पूर्वाधार नहुँदा एउटा ठूलो रूखमुनि किसानले तरकारी पु-याउँछन् । आइतबार दिउँसो १ बजेतिर पनि किसानले धमाधम बन्दा थुपारिरहेका थिए ।

 झन्डै २० मिनेट टाढाको बारीबाट बन्दा ओसारेका किसान श्यामकुमार प्रधानले भने, ‘दिनभरि नथाकुञ्जेल यही रूखको फेदीमा बन्दा थुपार्ने हो, बेलुकातिर ट्रक आएर लैजान्छ ।’ किलोको कति पर्छ ? प्रधानले भने, ‘आज १७ रुपैयाँ पाइन्छ, अलि अघि त प्रतिकिलो आठ रुपैयाँमै बिक्री गर्न परेको थियो । बारीमा तरकारी उब्जनी भइसकेकाले मूल्य नपर्खी व्यापारीलाई दिनुपर्ने बाध्यता छ ।

परिवारका साथ तरकारी ओसारिरहेका प्रधानले स्थानीय संकलन केन्द्रका व्यापारीले प्रतिकिलो पाँच–दश रुपैयाँ नाफा राखेर ‘सहरका व्यापारी’लाई बेच्ने गरेको बताए । ‘लोकल व्यापारीले हामीसँग १५ रुपैयाँमा किने भने अर्को सहरबाट आउने व्यापारीलाई २५ रुपैयाँसम्ममा बिक्री गर्छन्,’ उनले भने ।

संकलक
टिस्टुङमा किसानले ल्याएको तरकारी संकलन गर्ने प्रकाश लामा आइतबार बिहान करिब १२ बजेतिर कुखुराको मासुसँग भात खाँदै गर्दा भेटिए । किसानबाट दैनिक पाँच सय बोरा बन्दा संकलन हुने गरेको बताउने लामाले आफूहरूले धेरै नाफा नलिने दाबी गरे । ‘एक बोरामा २५ किलो बन्दा हुन्छ,’ उनले भने, ‘मैले प्रतिकिलो एक रुपैयाँ नाफा राखेर व्यापारीलाई पठाउँछु । यहाँको तरकारी काठमाडौं जाँदैन, बुटवलका व्यापारीले ट्रक लिएर आउँछन् र सबै लैजान्छन् ।’

किसानबाट तरकारी संकलन गर्न लामालाई खासै मिहिनेत पर्दैन । किसानले घरअगाडिसम्म ल्याइदिएको तरकारी लामाले २५ किलोका दरले बोरामा प्याक मात्र गर्छन् । पाँच सय बोरामा २५ किलोका दरले १२ हजार पाँच सय किलो बन्दा प्याक हुन्छ । लामाकै कमिसन हिसाब गर्दा दैनिक उनले १२ हजार पाँच सय रुपैयाँ मुनाफा कमाउँछन् ।

धार्केबजार किसानका दुःख
नुवाकोटका किसान हेमप्रसाद मुडवरी बिहान झिसमिसेमै तरकारीको भारी बोकेर चार घन्टा पैदलपछि धादिङको धार्के बजारस्थित संकलन केन्द्रमा पुग्छन् । उकालो र ओरालो कठिन बाटो हुँदै धोक्रो बोकेर धादिङ र नुवाकोटबीचको कोल्पु खोला तरेर पसिनैपसिना भएर बजारसम्म पुग्छन् । ‘खोलामा कम्मरसम्म आउने पानी छ,’ सोमबार बिहान धार्के बजारमा भेटिएका मुडवरीले भने, ‘वर्षायाममा त घाँटीसम्म डुब्ने गरी पानी हुन्छ । पोहोर त खोलाको वेगले तीन भारी तरकारी बगायो ।’

तरकारीको धोक्रो बजारमा बिसाउँदा मुडवरीको ज्यानमा पसिना र खोलामा भिजेको लुगा पूरै भिजेको थियो । ‘बर्खा होस् कि हिउँद बारीमा फलाएको तरकारी टिपेर बजार धाउनु हाम्रो बाध्यता छ,’ उनले भने, ‘बारीमा तरकारी कुहाउन सकिन्न, सकिनसकी बजार ल्यायो भाउ हामीलाई सारै थोरै छ । घर चलाउन कम भाउमा पनि बेच्नुपर्ने हाम्रो बाध्यता छ ।’
संकलन केन्द्रबाट थोक व्यापारीले लैजान्छन्

धार्के बजार उपत्यकामा तरकारी आपूर्ति गर्ने मुख्य संकलन केन्द्रमध्येमा पर्छ । सो बजारमा किसानबाट हाल दैनिक करिब एक हजार दुई सय टन तरकारी संकलन हुने एक व्यापारीले बताए । उनका अनुसार त्यहाँबाट बुटवल, लहान, जनकपुर, काठमाडौंलगायत ठाउँमा तरकारी पुग्छ । ती व्यापारीका अनुसार उनीहरूले सीधै थोक बजारमा तरकारी लैजान पाउँदैनन् । ‘हामीले थोक व्यापारीलाई तरकारी बुझाउनुपर्छ, सीधै थोक बजारमा पहुँच छैन,’ उनले भने, ‘यस्ता व्यापारीको बजार हुँदैन, गोदाम घर मात्रै हुन्छ । उनीहरूले थोक बजारमा बस्ने व्यापारीलाई तरकारी दिन्छन् ।’

यसरी हुन्छ मोलमोलाइ
धार्के बजारको संकलन केन्द्रमा सोमबार बिहान करिब ९ बजे एक वृद्ध किसानले एक बोरा प्याजको भारी बिसाए । उमेरले ६० नाघेका ती वृद्धलाई देख्नासाथ एकसाथ दुई व्यापारी पुगे र भने, ‘किलोको १९ ले दिने हो ।’ वृद्ध किसानले २० रुपैयाँ किलोमा दिन्छु भने । तर, दुई व्यापारीले काठमाडौं लगेर २० रुपैयाँमा बिक्री गर्ने हो भन्दै १९ रुपैयाँसम्म मात्र दिन्छौँ भनेर दोहो¥याए । भारी बोक्दाको पसिना पुछ्दै वृद्ध किसानले भने, ‘हामीलाई पनि थाहा छ, तिमीहरूले कतिमा बिक्री गर्छौ भनेर । २० मा दिने भए दिन्छु, होइन भने यहीँ राख्छु ।’

भाउ नमिल्दै ‘हुन्छ, हुन्छ’ भनेर प्याजको बोरा व्यापारीले तान्न खोजिरहेका थिए । वृद्ध किसानले दुई हातले च्यापेर लग्न दिएका थिएनन् । वृद्ध किसानले अडान लिएपछि अर्का व्यापारीले फकाउन थाले, ‘अबेला भइसक्यो, एकछिनमा तरकारी उठाउन बन्द हुन्छ । हामीले भनेको मूल्यमा देऊ, नत्र फर्काउनु पर्ला ।’ वृद्ध किसान नगलेपछि व्यापारीले प्रतिकिलो २० रुपैयाँ नै दिने भन्दै जोख्न लगाए । डिजिटल तराजुले बोरामा रहेको प्याज २५ किलो देखायो ।

किसानका यी दुःख (भिडियो हेर्नुहोस्)
नुवाकोटका किसान हेमप्रसाद मुडभरी बिहान अँध्यारो छँदै तरकारीको भारी बोकेर चार घन्टा पैदल यात्रामा पुगिने धादिङको धार्के बजारस्थित संकलन केन्द्रमा पुग्छन् । बारीमा तरकारी फलेपछि उनी दिनहुँ तरकारीको भारी बोक्दै धार्के बजार धाउँछन् । उकालो र ओरालो कठिन बाटाको सामना गर्नु त छँदै छ । धादिङ र नुवाकोटको बीचमा पर्ने कोल्पु खोला तर्नु सबैभन्दा कठिन छ । ‘खोलामा कम्मरसम्म आउने पानी थियो,’ सोमबार बिहान धार्के बजारमा भेटिएका उनले भने, ‘त्यही पानी भएको खोला तरेर आएँ ।’ उनी बजार आइपुग्दा भिजेको लुगा आधा सुकिसकेको  थियो ।र्षायाममा घाँटीसम्म आउने पानी हुन्छ । त्यस्तो खोला पनि तरेर आउनुपर्छ,’ उनी भन्छन्, ‘पोहोर साल त खोलाको वेग अलि बढी भएकाले तीन दिन गरेर मेरो तीन भारी तरकारी नै बगाइदियो ।’ खोलामा पानी धेरै भएका वेला पनि तरकारी टिपेर बिक्रीका लागि बजार धाउनु बाध्यता भएको उनले बताए । ‘बारीमा तरकारी फलेपछि नटिपी राखे बिग्रन्छ । त्यही भएकाले खोलामा धेरै पानी भए पनि तरकारी बोकेर तर्नैपर्छ,’ उनी भन्छन् ।

६० रुपैयाँको काउलीको मूल्य १२० रुपैयाँ
कृषकको खेतमा काउलीको मूल्य प्रतिकेजी ६० रुपैयाँ पर्छ । सोही काउलीलाई खुद्रा व्यापारीले एक सय २० रुपैयाँमा बेच्ने गरेका छन् । काभ्रेको सेरास्थित कृषकको खेतमा सुकेको लसुन प्रतिकेजी तीन सय रुपैयाँ पर्छ । सोही लसुनको मूल्य बजारमा तीन सय ५० पर्छ । ३० रुपैयाँ प्रतिकेजी पर्ने भन्टालाई उपभोक्ताले ७०  रुपैयाँमा किन्नुपर्छ ।

हरियो खुर्सानी कृषकको खेतमा प्रतिकेजी ८० रुपैयाँ पर्छ । बजारमा पुग्दा सोही खुर्सानीको मूल्य एक सय ५० रुपैयाँ प्रतिकेजी पुग्छ । यस्तै, घिरौँलाको मूल्य कृषकको  खेतमा प्रतिकेजी ४० रुपैयाँ पर्छ । बजारमा पुग्दा ७० रुपैयाँ प्रतिकेजीमा बिक्री हुन्छ । कृषकसँग प्रतिकेजी आठ रुपैयाँमा स्कुस किनेर ३० रुपैयाँमा बेच्ने गरेको पाइयो । हरियो फर्सीको मूल्य कृषकको खेतमा २० रुपैयाँ प्रतिकेजी पर्छ । सोही फर्सीलाई खुद्रा व्यापारीले प्रतिकेजी ५० रुपैयाँमा बेच्ने गरेका छन् । ७० रुपैयाँ प्रतिकेजी पर्ने बोडीलाई एक सय ५० रुपैयाँमा बेच्ने गरिएको छ ।

४० रुपैयाँको मुला ७० रुपैयाँमा किनबेच
तरकारी उत्पादनको केन्द्र मानिने काभ्रेको नालास्थित सेरा पुग्दा कृषकको खेतमा मुलाको मूल्य प्रतिकेजी ४० रुपैयाँ थियो । सोही मुला बजार पुग्दा ६५ देखि ७० रुपैयाँमा बिक्री गरेको भेटियो । सेतो आलु कृषकको खेतमा प्रतिकेजी ३० रुपैयाँ पर्ने देखियो । सोही आलुलाई खुद्रा व्यापारीले प्रतिकेजी ५० रुपैयाँमा बेच्ने गरेको भेटियो । कृषकको खेतमा ३५ रुपैयाँ पर्ने रातो आलुलाई खुद्रा व्यापारीले प्रतिकेजी ५५ रुपैयाँमा बेच्ने गरेको भेटियो ।

कृषकबाट ५६ रुपैयाँमा गोलभेँडा किनेर ९० रुपैयाँमा बिक्री
कृषकको खेतमा गोलभेँडा मूल्य ५६ रुपैयाँ पर्ने देखियो । सोही गोलभेँडालाई खुद्रा पसलेले प्रतिकेजी ९० रुपैयाँमा बेच्ने गरेको पाइयो । हरियो सिमी कृषकको खेतमा प्रतिकेजी ८० रुपैयाँ पर्ने देखियो । सोही सिमीलाई खुद्रा पसलेले एक सय २० रुपैयाँमा बेच्ने गरेको भेटियो । प्रतिकेजी ४० रुपैयाँको हरियो काँक्रो खुद्रा पसलेले प्रतिकेजी ७० रुपैयाँमा बेच्ने गरेको भेटियो ।

नाफा रकम बिचौलियाको हातमा
बजारमा तरकारी मूल्य आकासिएको छ । व्यापारीहरूले किसानको खेतबाट खरिद गर्दाको मूल्यमा दुईगुनाले वृद्धि गरी उपभोक्तालाई बेच्दै आएका छन् । तर, किसानले नाफा हुने रकमको थोरै हिस्सा पनि हात पार्न सक्दैनन् । सबै नाफारकम बिचौलियाको हातमा पर्ने गर्छ । संकलन केन्द्र, तरकारीको थोक बजार हुँदै खुद्रा तरकारी पसलमा पु¥याउँदासम्मको वृद्धि मूल्य बिचौलियाले लैजान्छन् ।

चार तह पार गरेपछि मात्र उपभोक्ताकहाँ तरकारी
काभ्रेको नालास्थित सेरामा उत्पादन भएको तरकारी चार तह पार गरेपछि मात्रै काठमाडौंका उपभोक्तासमक्ष पुग्ने गरेको छ । सेराका कृषकले उत्पादन भएको तरकारी पहिलो चरणमा स्थानीय संकलन केन्द्रमा लैजान्छन् । कालीमाटीस्थित तरकारी बजारका व्यापारी संकलन केन्द्र पुग्छन् र कृषकसँग तरकारीको मूल्यबारे मोलमोलाई चल्छ ।

संकलन केन्द्रमा जम्मा भएकामध्ये सबैभन्दा कम मूल्यमा बेच्ने कृषकबाट व्यापारीले तरकारी खरिद सुरु गर्छन् । यसो गर्दा महँगो मूल्यमा बेच्न खोज्ने कृषक साविकको मूल्यमा तरकारी बेच्न बाध्य हुन्छ । सोही मौकाको फाइदा उठाउँदै व्यापारीले सकेसम्म सस्तोमा कृषकबाट तरकारी खरिद गर्छन् ।

कृषकको खेतबाट किनेको भन्दा ५० प्रतिशत बढी मूल्य तोकिन्छ
संकलन केन्द्रबाट जम्मा गरेको तरकारी कालिमाटी तरकारी बजारमा पु¥याइन्छ । व्यापारीले ढुवानी भाडा, परिश्रम र ढुवानीका क्रममा खेर गएको तरकारीको मूल्य एकै ठाउँ जोड्छन् र तरकारीको होलसेल मूल्य निर्धारण गरिन्छ । यसो गरिँदा तरकारीको मूल्य कृषकको खेतबाट खरिद गरिएको भन्दा ५० प्रतिशत बढ्छ । बढेको सोही मूल्यमा कालिमाटी तरकारी बजारका व्यापारीले खुद्रा व्यापारीलाई बिक्री गर्छन् ।

खुद्रा व्यापारीले कालीमाटी तरकारी बजारबाट तरकारी पसलमा लैजान्छन् । उनीहरूले पनि ढुवानी खर्च, पारिश्रमिक र ढुवानीका क्रममा खेर गएको तरकारीको मूल्य एकै ठाउँ जोड्छन् ।

र, तरकारीमा नयाँ मूल्य निर्धारण गर्छन् । यसो गरिँदा तरकारीको मूल्य होलसेल व्यापारीसँग खरिद गरिएको भन्दा ५० प्रतिशत बढ्छ । बढेको सोही मूल्यमा खुद्रा व्यापारीले उपभोक्तालाई तरकारी बेच्छन् । त्यसो हुँदा कृषकको खेतबाट उपभोक्तासम्म पुग्दा तरकारीको मूल्य दुई गुणाले वृद्धि हुने गर्छ।

आजको नयाँ पत्रिका दैनिकबाट