दसैँका यात्रुलाई लक्षित गर्दै साझा बस वीरगन्जमा सुरु

काठमाडौँ, असोज १९ । लामो समयपछि साझा यातायातले आजदेखि वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

गत असोज १६ गतेदेखि गोरखा र बाग्लुङमा आफ्नो सेवा विस्तार गरेको साझा यातायातले दसैँमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई मध्यनजर गर्दै आजदेखि वीरगन्जमा पनि सेवा विस्तार गरेको हो । केही दिनमा नै भैरहवा हुँदै लुम्बिनीका लागि सेवा विस्तार हुने बताइएको छ । sajha
दश वर्षपछि पहिलोपटक गत असोज १६ गतेदेखि साझाले आफ्नो सेवा उपत्यकाबाहिर विस्तार गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए । लामो समयपछि गत आइतबारदेखि दैनिकरुपमा बागलुङका लागि दुई र काठमाडौं—गोरखाका लागि दुईवटा बस काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् ।
विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ बाट पूर्णरूपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा भने २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेका बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो ।
लामो समयपछि उपत्यकाबाहिर बस सञ्चालन भएको हँुदा सञ्चालनको सुरुको दिनमा त बसको सिट भरिने गरी यात्रु थिएनन्, अहिले भने बसमा अटाई नअटाई यात्रु रहने गरेका छन् । उक्त बसमा एक पटकमा बसेर ५५ जना र केहीले उभिएर पनि यात्रा गर्न सक्नेछन् । सेवा विस्तार गरेको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् ।