प्रधानमन्त्री र चीनका राष्ट्रपति सी जिनपिङबीच २९ असोजमा गोवामा वार्ता

प्रधानमन्त्री र चीनका राष्ट्रपति सी जिनपिङबीच २९ असोजमा गोवामा वार्ता

‘प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोवामा २९ असोजमा साइडलाइन वार्ता हुने तय भएको छ,’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार सीमित सञ्चारकर्मीसँग भने, ‘दुईपक्षीय हितका विषयमा छलफल हुनेछ ।’ सो भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणका लागि आग्रह गर्ने बुझिएको छ ।

चीनका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणका बारेमा कूटनीतिक च्यानलमा चर्चा चलिरहेको छ । ब्रिक्स र बिमस्टेकको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गोवा जानेछ । त्यहाँ अन्य मुलुकका उच्चस्तरीय नेतृत्वस“ग पनि भेटवार्ताका लागि पहल भइरहेको परराष्ट्र स्रोतले बताएको छ ।

मुखर्जी जनकपुर र लुम्बिनी जाने
भाइटीकाको भोलिपल्ट २ नोभेम्बरमा नेपाल आउन लागेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले जनकपुर र लुम्बिनीको भ्रमण गर्ने भएका छन् । उनले पोखराको समेत भ्रमण गर्नेबारे नेपाल र भारतका सम्बद्ध अधिकारीबीच छलफल भइरहेको छ ।

‘राष्ट्रपतिज्यूको जनकपुर र लुम्बिनी भ्रमणका बारेमा छलफल चलिरहेको छ,’ परराष्ट्रमन्त्री महतले भने । ०७१ मंसिरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तय भए पनि अन्तिममा सुरक्षाका कारण भन्दै भ्रमण स्थगित भएको थियो ।