दसैँमा घर हिँडेका यात्रु जाममा

दसैँमा घर हिँडेका यात्रु जाममा

काठमाडौँ,  असोज २१ – सडक विभागले बाढी–पहिरोको समस्या हुनसक्ने एक सय ६४ स्थान पहिचान गरेको छ । ती ठाउँहरूमा बाटो खुलाउन नयाँ–पुराना गरी तीन सय ५० हेभी इक्विपमेन्ट, एक हजार आठ सय सडक कामदार र चार सय निरीक्षकलाई तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । वर्षा लागेसँगै यो तयारी थालिएको र यथावत् राखिएको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । अवश्यक परेमा सुरक्षाकर्मीको पनि सहयोग लिइने उनले बताए ।

उपत्यकाबाट दसैँ मनाउन घर हिँडेका यात्रुलाई बाटोमा घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । राजमार्गका केही खण्डमा पहिरो र सवारीको अत्यधिक चापले पनि समस्या छ । पृथ्वी राजमार्गको आँबुखैरेनीमा बुधबार झरेको सुक्खा पहिरोले लामो दूरीका बस समयमै गन्तव्यमा पुग्न नसकेको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । उपत्यकाबाट बाहिरिने अरनिको र बिपी राजमार्गमा भने कुनै समस्या नरहेको भट्टले बताए ।

तीन घन्टाभित्र अवरोध खुलाउने तयारी
सडक विभागले मुख्य राजमार्गमा पहिरो वा अन्य कुनै समस्या आएमा दुईदेखि तीन घन्टाभित्र बाटो सुचारु गराउन गरी तयारी गरेको जनाएको छ । ‘त्योभन्दा बढी समय नलगाउने गरी आवश्यक इक्विपमेन्ट र जनशक्ति तयारी अवस्थामा राखेका छौँ,’ विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले भने ।

मुग्लिन–नारायणगढखण्डमा खाल्डाखुल्डीले समस्या
यातायात व्यवसायीहरूका अनुसार मुग्लिन–नारायणगढ राजमार्गमा खाल्डाखुल्डी छन् । ‘यो सडकखण्डमा गाडी गुडाउन अप्ठ्यारो छ,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘खाल्डाखुल्डी भएकाले बिस्तारै हाँक्नुपर्ने भएकाले समयमै गन्तव्यमा पुग्न कठिनाइ भएको छ ।’

दैनिक बाहिरिन्छन् साढे चार हजार गाडी
राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले बिहीबारबाट यात्रुसहित ४५ सय सवारीसाधन उपत्यकाबाट बाहिरिने गरेको बताए । उनका अनुसार बुधबारसम्म दैनिक तीन हजार पाँच सय सवारीसाधन बाहिरिएका थिए । सडक मर्मत–सुधारमा बेवास्ता हँुदा यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन नसकिएको व्यवसायीको भनाइ छ ।

सवारीसाधनको अत्यधिक चापले समयमै गन्तव्यमा पुग्न समस्या हुने सडक विभागको निष्कर्ष छ । सवारीसाधनको चापले जाम हुने कारण बढी समय लागेकोे विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । अन्य कारणले पनि ढिलो हुने गरेको उल्लेख गर्दै उनले भने, ‘सडक विस्तार र विभिन्न खण्डमा पानीले सडकमा असर गरेकाले पनि जाम बढेको छ ।’