माझी गाउँमा दसैँ मनाउँदै सांसद

तम्घास (गुल्मी), २१ असोज – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले गुल्मीको खोला तथा नदी किनारमा बस्दै आएका माझी समुदायसँग यसपालीको दसैँ मनाउने हुनुभएको छ ।

बलिथुमलाई मुख्य थलो बनाएर बसेका सिमान्तकृत माझी समुदायसँग उहाँले दसैँ मनाउन लाग्नुभएको हो । ७३ घरपरिवार माझीसँग यसपालीको दसैँ मनाउनका लागि आफू काठमाडौँबाट गुल्मी आइपुगेको भण्डारीले बताउनुभयो । “७३ परिवारमा ३७३ माझी छन्, यसपालीको दसैँ उनीहरूसँगै मनाउँछु”– उहाँले भन्नुभयो, “राजनीति भनेको अभिभावकत्व पनि त हो नि ।”

हुँगाका स्थायी बासिन्दा भण्डारीले यसपाली आफू घर नजाने र माझी समुदायसँगै बसेर दसैँ मनाउने मनसाय बनाउनुभएको हो । “मेरा बाबु आमाका अरु छोराछोरी पनि छन्, तर उनीहरुका कोही छैनन्”– “त्यसैले यसपटक उनीहरूसँगै दसैँ मनाउछु ।” सांसद भण्डारीले माझी गाउँमै बसेर टीकाटालो गर्ने, दक्षिणा दिने, खानपिन गराउने कार्यक्रम रहेको बताउनुभयो ।

भण्डारीले उक्त समुदायलाई विगतदेखि नै सहयोग गर्दै आउनुभएको छ । भण्डारीले आफूले पाउने तलबबाट उक्त गाउँका स्कुले विद्यार्थीलाई कापी, कलम र पोसाक लगायतका सामग्रीसमेत उपलब्ध गराउँदै आइरहनुभएको छ । रासस