१० हजारका नोट गनिसकेपछि राष्ट्रकवि घिमिरेले सोधे : ‘यति सबै मेरो हो ?’

काठमाडौँ, असोज २२ । “यति सबै मेरो हो ?” राष्ट्रकवि माधव घिमिरेले जिज्ञासा राख्दै १० हजारका नोट गनिसकेपछि प्रसन्न मुद्रामा भने, ‘स्याबास’ । सम्भवतः साझा प्रकाशनबाट धेरै बिक्री हुनेमध्येको एक लोकप्रिय पुस्तक ‘गौरी’ खण्डकाव्यका स्रष्टा घिमिरेलाई यसअघि यसरी घरमै पुगेर सो प्रकाशनका व्यवस्थापकले रोयल्टी (लेखकस्व) दिएका थिएनन् । रु ४० करोडभन्दा बढी घाटामा रहेको साझा प्रकाशनले दसैँका मुखमा सिद्धहस्त साहित्यकारलाई ऋण गरेर रोयल्टीबापतको केही रकम वितरण गरेको छ ।
प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा शुक्रबार घिमिरेको निवास लाजिम्पाट पुग्दा साँझ परिसकेको थियो । दिउँसो नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर नयाँ अनुभूतिमा रहनुभएका घिमिरेले माथिल्लो तलाबाट बैठक कक्षमा प्रवेश गरेर रोयल्टी बुझेपछि साझालाई यसरी शुभकामना दिए, “अब धेरै ऋण खोज्ने वा लगानी गर्ने भनेर ठूलो मुख बाउने कुरा छाडौँ, छाप्न सक्ने पुस्तक छापौँ, कर्मचारी घटाऔँँ, क्रमशः संस्था उठाऔँ ।” madhav
साझा प्रकाशन बचाऊ अभियानका लागि विभिन्न प्रधानमन्त्रीलाई भेट्ने उच्चस्तरीय टोलीमा राष्ट्रकवि घिमिरे पनि सहभागी भएका थिए तर हालसम्म परिणाम हात लागेको छैन । ‘माधवी’ उपन्यासका स्रष्टा मदनमणि दीक्षितले पनि आफ्नो निवास डिल्लीबजारमा रु १० हजार लेखकस्व बुझेपछि खुसी व्यक्त गरे । लेखकस्व पाउन बाँकी छ र कहिले पाइएला भन्ने चासो राखेका दीक्षितले यसरी दसैँकै मुखमा त्यति रकम पाउने आशा भने नगरेको बताए ।
विसं २०३१ मा साझाबाट कविता कृति प्रकाशन गरेका वैरागी काइँलाले पनि धूम्रबाराहीस्थित निवासमा लेखकस्व बुझेपछि मुस्कानका साथ भने, “साझा बचाउन हाम्रो साथ के चाहिन्छ भन्नुहोला ।”
करिब एक हजार ४०० लेखक सेयर सदस्य रहेको प्रकाशनमा आम्दानीको एक प्रमुख स्रोत तिनै लोकप्रिय पुस्तकका कृति हुन् । घाटामा गएको संस्थामा बिक्री भएका पुस्तकले मात्र तलब खुवाउन नपुगेपछि कर्मचारीले पनि छ महिनादेखि तलब पाएका छैनन् । कर्मचारीलाई दसैँमा कम्तीमा एक महिनाको तलब र लेखकलाई धेरथोर पारिश्रमिक वितरण गर्न साझा प्रकाशन सञ्चालक समितिको निर्णय बमोजिम करिब रु ३० लाख ऋण खोजेर दसैँको गर्जाे टारिएको महाप्रबन्धक शर्माले बताए । लेखकस्व अन्तर्गत रु सात लाख तथा अन्य तलब र विविधमा खर्च गरिएको प्रकाशनले जनाएको छ ।
रोयल्टीका लागि साझा प्रकाशनबाट फोन जाँदा कतिपय लेखकले पत्याएका थिएनन् । घाटामा गएको र अस्तव्यस्त बनेको संस्थाले कसरी लेखकलाई बोलायो ? साझाबाट माक्र्सवादी साहित्यसम्बन्धी विभिन्न समालोचना प्रकाशन गरेका निनु चापागाईँले भने, “साझाले यस्तो बेलामा कसरी हामीलाई पारिश्रमिक दियो, म त अचम्ममा परेँ ।” विगतको व्यवस्थापकले पनि लेखकसँगको सम्बन्ध सुधारेको भए संस्था त्यति साह्रो ओरालो नलाग्ने उनको टिप्पणी छ ।
साहित्यकार सत्यमोहन जोशी, वासुदेव त्रिपाठी, गीता केशरी, कृष्ण गौतम, मोहन वैद्य ‘चैतन्य’, डा ध्रुवचन्द्र गौतम लगायतलाई पनि साझाले लेखकस्व प्रदान गरेको छ । ‘कवि प्यासी युगको आँखा’ पुस्तकका लेखक डा रामदयाल राकेशले पनि साझाले बोलाएर लेखकस्व दिएको जनाउँदै यसले नयाँ आशा जगाएको प्रतिक्रिया दिए । ‘साहित्य र समाज’ कृतिका लेखक डा ऋषिराज बराल लेखकलाई प्रकाशकले सम्झनु सकारात्मक पक्ष भएको भन्दै साझा प्रकाशनलाई माथि उठाउन सबैतिरबाट सहयोग हुनुपर्ने बताउँछन् ।
महाप्रबन्धक शर्माले दसैँपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग वरिष्ठ साहित्यकार सहितको टोलीले भेटेर साझा बचाउन रु ४० करोड सहुलियत ऋण मागिने र त्यो प्रयास सफल नभए संस्थाको जग्गा बेचेर ऋण तिरिने जानकारी दिए ।} else {

Loading...