दाङ, असोज २४ । बडादसैँको अवसरमा सरकारले दाङका र रोल्पाका गरी १० जना कैदीको कैद मिनाहा गरेको छ ।
सरकारले राम्रो आचरण देखाएका दाङका चारजनाको कैद मिनाह गरेको हो । कारागारमा रहँदा राम्रो आचरण देखाएको भन्दै घोराही कारागारबाट तीन र तुलसीपुर कारागारबाट एक गरी चारजना कैदीको कैद मिनाहा भएको हो ।
कैद मिनाहा पाउनेहरुमा घोराही कारागारबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय तोकिएका दाहा–७ कालीकोटका जगदीश गोराल, सवारी ज्यान मुद्दामा पाँच महिना तीन दिन सजाय तोकिएका लक्ष्मीपुर–१ का विष्णु चौधरी र कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका घोराही नगरपालिका–१ का वीरशरण चौधरी रहेको घोराही कारागारले जनाएको छ ।
यस्तै, तुलसीपुर काराकारबाट कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका हलवार–८ का धनबहादुर भन्ने घनश्याम घर्तीको कैद मिनाहा भएको तुलसीपुर कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कारागारमा रहँदा राम्रो चालचलन देखाउने कैदीलाई रिहा गर्दै आएको छ ।
रोल्पा कारागारबाट छ कैदी छुटे
बडादसैँको अवसरमा कारागार शाखा रोल्पाबाट छजना कैदी बाँकी कैद मिनाहा भई रिहा भएका छन् । कारागारमा रहँदा राम्रो आचरण देखाएको भन्दै उनीहरुलाई जिल्ला कारागार शाखा रोल्पाका जेलरको सिफारिसमा सरकारले रिहा गरेको हो ।
त्यसरी रिहा हुनेहरुमा डाँका चोरी मुद्दाका पाँच, ज्यान मुद्दाका एकजना रहेका छन् ।
डुबिडाँडा–२ रोल्पाका ज्ञानबहादुर बस्नेत र ओमप्रकाश बस्नेत, जुगेडा–८ अर्घाखाँचीका दोर्णबहादुर वीरकट्टा मगर, तिलपुङ–३, रामेछापका सञ्जय भनिने दीपक राना, सौडियार–७, दाङका लोकराज कँवर डाँका चोरी मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेको अवस्थामा बाँकी कैद मिनाहामा परी रिहा भएका हुन् ।jail

यसैगरी, घोराही–१ दाङका मङ्गल चौधरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गर्दागर्दै बाँकी कैद मिनाहा भई रिहा भएको जिल्ला कारागार शाखा रोल्पाका प्रहरी सहायक निरीक्षक कुलबहादुर रावतले जानकारी दिए ।
उनीहरुलाई यसपटक बाँकी कैद मिनाहा दिइए पनि अर्कोपटक पुनः मुद्दा परे पटके मुद्दाअन्तर्गत दोब्बर सजाय हुने रावतले जानकारी दिए ।
कारागार शाखा रोल्पामा हाल थुनुवा तीन र कैदी छसहित नौजना महिला रहेका छन् भने आठ थुनुवा र ५९ कैदीसमेत ६७ जना पुरुष रहेका छन् । यसैगरी, सो कारागारमा तीनजना नाबालकसहित जम्मा ७९ जना थुनुवा एवम् कैदी रहेको जिप्रका, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताए ।
हरेक वर्ष सरकारले विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कैदीबन्दीलाई रिहा गर्दै आएको छ ।