संस्थागत अपराध एसियाली क्षेत्रको चुनौती : मन्त्री महत

काठमाडौँ, असोज २४ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आतङ्कवाद, धार्मिक अतिवाद, हिंसात्मक गतिविधि र संस्थागत अपराधजस्ता क्रियाकलाप एसियाली क्षेत्रमा पनि एक प्रमुख चुनौतीका रुपमा देखिएको बताएका छन् ।
एसियन कोअपरेसन डाइलग (एसियाली मञ्च)को दोस्रो सम्मेलनलाई आज थाइल्यान्डको बंंैककमा सम्बोधन गर्दै उनले भने – यी चुनौतीलाई मानवताविरुद्धको अपराधका रुपमा लिएर यसको नियन्त्रणका लागि सामूहिक प्रयास गरिनुपर्दछ ।
मन्त्री डा महतले एसियाली क्षेत्रमा मानवीय विकासका कैयौँ सम्भावना हुँदाहुँदै पनि यातायातको कमजोर संरचना, सडक मार्गले सम्पूर्ण एसियालाई जोड्न नसक्नु, पूर्वाधार विकासमा कमि र प्रविधिको हस्तान्तरणमा समेत कमिका कारण एसियाली क्षेत्र पछाडि पर्नुपरेको उल्लेखगर्दै एसियाको विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।
समृद्ध एसियाका लागि कैयौँ सम्भावनाहरु रहेकोतर्फ एसियाली नेताहरुको ध्यानाकर्षण गराउँदै उनले भने – ठोस नीति र कार्ययोजनाका साथ अगाडि बढ्न सके एसियालाई अरु संसारसँग समृद्ध एसियाका रुपमा जोड्न सकिन्छ ।
मन्त्री डा महतले नेपाल यतिखेर विनाशकारी भूकम्पपछिको पुनःनिर्माणको चरणमा रहेको भन्दै यसका लागि नेपालप्रति गरेको सहयोगका लागि विश्व समुदायलाई धन्यवाद ज्ञापन गरे ।pp
नयाँ संविधानको कार्यान्वयनसँगै नेपालले संसदीय, सङ्घीयलगायतका संरचनाहरुको निर्वाचनका लागि तयारी गरिरहेको बताउँदै उहाँले संविधानको प्रभावकारी कार्यान्वयनसंगै नेपालले आर्थिक विकासको अभियान थाल्ने चरणमा रहेको विचार व्यक्त गरे