नवदुर्गा प्रारम्भिक नृत्य सुरु

भक्तपु, असोज २५ । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको छ ।

प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु हुन्छ ।

देवत्व सिद्धिका लागि प्रसिद्ध मानिएको तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारी आचाजुले देवगण हुने सम्बद्ध वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरी घंंघला सिंल ल्हायगु (हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ ।

देवगणमा सम्बद्ध वनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी जुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र कायँ बाजा तथा घँ घलाहरु नास द्यः अघितिर राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी कर्माचार्य बताउनुहुन्छ । नवदुर्गा देवगणमा सम्बद्ध वनमालाहरुले नृत्य सिद्धिप्राप्तिपछि नास द्यःलाई भेडा बलि दिइन्छ ।durga

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घँ घला प्राप्ति गरेका वनमालाहरुले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

शुभसाइतको अवसरमा व्रतबन्ध

बडादसैँका दिन शुभसाइतमा आज भक्तपुरमा व्रतबन्ध र विवाह गर्नेको चहलपहल बढेको छ ।

बडादसैँका दिन साइत हेर्न नपर्ने भएकाले यहाँका शक्तिपीठमा व्रतबन्ध र विवाह गर्नेको चहलपहल बढेको हो । दसैँघरमै व्रतबन्ध गरी नजिकको शक्तिपीठमा पूजाआजा र दर्शनका लागि आउने गरिन्छ ।

ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बारही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी भैरवनाथ मन्दिरलगायतका शक्तिपीठमा व्रतबन्ध गर्नेको घुइँचो लागेको छ ।