एमालेको चियापानले ततायो राजनीतिक माहोल

एमालेको चियापानले ततायो राजनीतिक माहोल

सत्तारुढ कांग्रेसका नेताहरूले एमालेसहितको सहमतिमा संविधान कार्यान्वयन र संशोधन प्रक्रिया अघि बढ्ने सन्देश दिएका थिए । एमाले नेताहरूले पनि मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

को–को गए चियापानमा ?
धुम्बराहीको शंखपार्कमा आयोजित चियापानमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, सभामुख ओनसरी घर्ती पुगेका थिए । मन्त्रीहरु शंकर भण्डारी, गगन थापा, केशवकुमार बुढाथोकीलगायतको पनि सहभागीता थियो । माओवादी केन्द्रका नेताहरु पनि चियापानमा सहभागी थिए ।

अपरान्ह १२ बजेबाट साँढे ३ बजेजसम्म आयोजित कार्यक्रममा चन्द सबैभन्दा पहिले र मन्त्री थापा अन्त्यतिर पुगेका थिए । भारत, चीन, अमेरिका, युरोपियन युनियन, सार्क राष्ट्रलगायतका मुलुकका नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, सरकारी सेवाका विशिष्ट अधिकारी, तिनवटै सुरक्षा अंगका प्रमुख, उद्योगी–व्यापारी, कलाकार, एमालेका हजारौं नेता–कार्यकर्ताको चियापानमा पुगेका थिए । अध्यक्ष केपी ओलीसहित मञ्चमा लहरै रहेका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतले पाहुनाको स्वागत गरेका थिए ।

मधेसी मोर्चाको नेता पनि सहभागी
अघिल्लो सरकारको नेतृत्व गरेकोबेला सम्बन्ध चिसिए पनि मधेसी मोर्चाका नेताहरु एमालेको चियापान कार्यक्रममा सहभागी भए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत मधेसी नेताहरु चियापानमा सहभागी भएर एमाले नेताहरुसँग अबको राजनीतिक निकासबारे छलफलसमेत गरेका थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरु भने चियापानमा देखिएनन् ।

संविधान संशोधनबारे ओली नरम
हामीसँग करिब १३ महिनाअघि बनिसकेको संविधान छ । संविधान गतिशिल दस्तावेज भएकाले आवश्यकता र औचित्यको आधारमा संशोधन गरिन्छ र गर्न सकिने कुरा हो । हामीले कसैसँग कुनै आग्रह–पूर्वाग्रह लिएर बसेका छैनौं, छलफलका आधारमा कहाँनेर आवश्यकता र औचित्य छ, त्यहाँ संशोधन हुनसक्छ ।

देउवालाई ओलीको प्रश्न : निर्वाचन के हुन्छ ?
एमाले शीर्ष नेताहरुको लहरमै कांग्रेस सभापति शेरबहादुर देउवा पनि थिए । त्यहीबेला संचारकर्मीले संविधान कार्यान्वयनसहित निर्वाचनाबारे जिज्ञासा राखे । एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवातिर देखाउदै भने, ‘सरकारमा हुनुहुन्छ, निर्वाचन के गर्नुहुन्छ ?

देउवाले तीनपटक दोह-याए : चुनाव हुन्छ
ओलीले सञ्चारकर्मीको प्रश्न आफूतिर सारेपछि कांग्रेस सभापति देउवाले साँढे १५ महिनाभित्र चुनाव गराएरै छाड्ने बताए । उनले भने, ‘चुनाव हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने, गर्ने ।’

एमालेको सहमतिमा संविधान संशोधन
कांगेस सभापति देउवाले एमालेको सहमतिविना संविधान संशोधन असम्भव रहेको पनि बताए । एमालेले संविधान संशोधनबारे मागेको औचित्य र आवश्यकता समय आएपछि पुष्टि हुनेगरी प्रस्ताव गर्ने पनि उनको भनाइ छ । ‘चुनाव गर्न पनि संविधान संशोधन जरुरी देखिन्छ, एमालेले आवश्यक छैन भनेकै छैन’, देउवाले भने, ‘त्यसैका लागि एमालेसँग पनि सहमति गर्ने हो, बेला आएपछि औचित्य पनि पुष्टि गरौंला ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Loading...