टुहुरो केटो मर्यो

चितवन, असोज ३० । पश्चिम चितवनको मेघौलीबाट भदौ २३ गते उद्धार गरिएको गैँडाको बच्चा (केटो) मरेको छ ।
चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले सौराहामा राखेर उपचाररत गैँडाको बच्चा (केटो) मरेको आज जानकारी दिनुभयो । करिब पाँच महिनाको केटोलाई पश्चिम मेघौलीबाट उद्धार गरेर राखिएको थियो ।
उद्धारका बेला शरीरभरि बाघको आक्रमणले घाउ नै घाउ थियो । बायाँ खुट्टाको पिँडुला भाँचिएको र दायाँ खुट्टाको तिघ्रा नजिकै गम्भीर चोट लागेको थियो । सोही चोटका कारण मरेको निकुञ्जले जनाएको छ ।
अघिल्लो महिना होटल मेघौली सेराईले करेन्ट छाडेको स्थानमा आउँदा करेन्ट लागेर मरेको माउ गैँडाको बच्चा भौँतारिँदै जाँदा बाघको पञ्जामा परेको अनुमान निकुञ्जले गर्दै आएको थियो । keto
ऊ सँगै नवलपरासीबाट ल्याइएको अर्काे सानो टुहुरो केटो भने अहिले तन्दुरुस्त भएको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो ।
नवलपरासी अमलटारीको मयुरे सामुदायिक वनस्थित नदी किनारमा फेला पारेपछि भदौ २० गते उसको उद्धार गरिएको थियो । उक्त वनमा फेला परेकाले उसलाई मयुरे भनेर बोलाइन्छ ।
चितवन निकुञ्जमा पटक पटक यसरी वन्यजन्तुका बच्चाहरु आमासँग बिछोडिँदा, बाघको आक्रमणमा परेर उद्धार गर्नुपर्ने अवस्थामा भेटिँदै आएका छन् । तर भरपर्दाे वन्यजन्तु अस्पताल र उद्धार केन्द्र नहुँदा भने यस्ता वन्यजन्तु जोखिममा छन् ।
केही महिना अघि रौतहटबाट तस्करको गोली लागेर गम्भीर घाइते भई उद्धार गरिएको एउटा गैँडासमेत चितवनमा उपचारका क्रममा अघिल्लो महिना मरेको थियो ।