काठमाडौं–सिन्धुलीगढी साइकल यात्रा कात्तिकमा हुने

सिन्धुली, ३० असोज । समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते काठमाडौंदेखि ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने भएको छ । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकलयात्रा काठमाडौं–धुलिखेल हुँदै वीपी मार्गमाबाट हुने छ । cycle
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते गोर्खालीले विजय हासिल गरेको सम्झनामा विजयउत्सव मनाउने गरिएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखा, जिल्ला विकास समिति सिन्धुली र स्थानीय सेनाको गणले संयुक्त रुपमा आयोजना गर्ने उक्त विजयोत्सवले सरकारी उत्सवको रुप लिइसकेको छ । आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । साइकलयात्रा त्यसैको सुरुवात रहेको समृद्ध सिन्धुली नागरीक अभियानका अभियान्ता सौरभ ढकालले बताए ।
ढकालले भने, “साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने हाम्रो योजना छ ।” ‘राइड टु सिन्धुलीगढी’लाई ब्रान्डिङ गरेर हरेक बर्ष व्यवसायिक साइकल यात्रीलाई यस यात्रामा सहभागी गराउने आफुहरुको उदेश्य रहेको ढकालले बताए । gadi
‘राइड टु सिन्धुलीगढी’मा यात्रागर्न इच्छुक साइकल यात्रीका लागि आवेदन खुल्ला गरिएको छ । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर यात्रीले आफूलाई दर्ता गर्न सक्ने र यात्रीका लागि आयोजकले खाने, बस्ने, टिसर्ट, बीमा र फर्कँदा सवारी साधन लगायतको व्यवस्था गरेको आयोजकले जनाएको छ ।
साइकल यात्रामा विश्व साइकल यात्री पुस्कर शाहसमेत सहभागी हुने र राइड टु सिन्धुलीगढीको नेतृत्व व्यवसायिक साइकल यात्री देवेन्द्र बस्नेतले गर्ने जनाइएको छ । gadi1
त्यस्तै सिन्धलीगढी विजयउत्सवलाई भव्य बनाउन नगरपालिका कार्यालय सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीदेखि गढी सम्म म्याराथुन समेत आयोजना गर्ने जनाएको छ । नेपालीहरुकै गौरबको रुपमा रहेको सिन्धुलीगढीलाई अझ स्थापित गराउनका लागी “माढी–गढी” म्याराथुनको आयोजना गर्न लागीएको कमलामाई नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगत प्रसाद भुषालले बताए ।

Loading...