बढी भाडा असुल्ने १ सय ८४ चालक कारबाहीमा

चितवन, असोज ३० । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १ सय ८४ गाडी चालकलाई यहाँ कारबाही गरिएको छ ।
तिनीहरुमध्ये १२२ जनाबाट असुल गरेको बढी भाडा प्रहरीले फिर्ता गराएको छ भने ६२ जनालाई भाडा फिर्ता गराई एक हजार पाँच सय रुपैयाँका दरले जरीवाना तिराएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घटस्थापनायता शनिबारसम्म उनीहरुलाई कारबाही गरिएको हो । यो समयमा स्थानीय रुटमा चल्ने, चितवनबाट टिकट काटेर अन्य जिल्ला जाने र चितवन हँुदै अन्य जिल्लातर्फ जाने सवारीसाधनको जाँच गरी बढी भाडा फिर्ता र कारबाही गरिएको कार्यालयका प्रमुख राजन भेटुवालले बताए ।che
सवारी चालकले दोब्बरसम्म भाडा असुल गरेको उनले बताए । गोर्खाको भच्चेकबाट काठमाडौँका लागि भाडा ५६० रुपैयाँ तोकिएकामा एक हजार रुपैयाँसम्म लिइएको पाइएपछि प्रतिव्यक्ति ४४० रुपैयाँ फिर्ता गराइएको भेटुवालले बताए ।
दसैँको समयमा जाँचलाई निकै कडा गरिएको थियो । यो समयमा नियम उल्लङ्घन गर्ने ५१८ सवारीसाधनलाई कारबाही गरिएको छ । सो क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने २८०, रुट परमिट नभएका ३० र मादकपदार्थ सेवन गरेर सवारी चलाउने २४ जनालाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुबाट पाँच लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
कार्यालयका अनुसार यस वर्ष दसैँका समयमा चितवनमा सामान्य दुर्घटनाबाहेक ठूला दुर्घटना भएनन् । ट्राफिक सचेतनाका कारण ठूला दुर्घटना नभएको कार्यालयका प्रमुख भेटुवालले जानकारी दिनुभयो । अघिल्लो वर्षको दसैँमा नौवटा दुर्घटना भएकामा यस वर्ष ६ वटा सामान्य दुर्घटना मात्रै भए ।

Loading...