दरौँदी ए जलविद्युत्को परीक्षण उत्पादन सुरु

गोरखा, कात्तिक १  । गोरखाको मुच्चोकमा निर्माण गरिएको ६ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु गरिएको छ ।

असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । उक्त आयोजना कालिका हाइड्रोपावर कम्पनीले रु एक अर्ब १० करोडको लगानीमा निर्माण गरेको हो ।dar

आयोजनाको सम्पूर्ण परीक्षण सकिएपछि नेपाल विद्युत् प्राधिकरणलाई छिट्टै विद्युत् बिक्री सुरु गरिने आयोजना निर्माण कम्पनीका प्रबन्धक विष्णु पन्तले बताउनुभयो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको पावर हाउस चनौटेमा निर्माण गरिएको छ । चनौटेदेखि गोरखा सदरमुकामको हरमटारीस्थित विद्युत् सवस्टेसनसम्म प्रसारण लाइन ल्याइएको छ ।

आयोजनाको विद्युत् १५ दिनसम्म नेपाल विद्युत् प्राधिकरणले निःशुल्क रुपमा प्रयोग गरेपछि व्यावसायिक रुपमा आयोजनाको विद्युत् उत्पादन गरिने बताइएको छ । गत असारमा विद्युत् उत्पादन हुने लक्ष्य राखिएको भए पनि भूकम्प, नाकाबन्दी जस्ता समस्याले गर्दा तोकिएको समयभन्दा केही ढिलो विद्युत् उत्पादन भएको हो ।

आयोजनाको विद्युत् गोरखास्थित सवस्टेसनमा जडान गरेपछि गोरखामा विद्युत् भार कटौती नहुने बताइएको छ । तीन केभीए क्षमताको सवस्टेसनलाई क्षमता बढाएर आठ केभीए क्षमताको बनाउने काम भइरहेको छ । दरौँदी ए आयोजना निर्माण सकिएपछि दरौँदीमै १० मेगावाट क्षमताको अर्को आयोजना निर्माण गरिने पन्तले बताए ।